हामी कागजको मोडलबाट निकै माथि उठिसक्यौं!

March 21, 2023

सुशील सिं

चैत ७

लेखक सुशील सिं विद्यार्थीहरूसँग।

सर, ग्यास सिलिन्डर महँगो छ, हामी त जंगलबाट दाउरा लिएर आउँछौं। यसरी सधैं दाउरा ल्याउँदा एक समयमा जंगल विनाश हुनसक्छ भनेर हजुरले पढाउनुभएको छ। वातावरण नोक्सान नहुने गरी हामीले खाना बनाउने केही वैकल्पिक व्यवस्था हुन सक्दैन?'

उक्त प्रश्न म कक्षामा पढाउँदै गर्दा एक जना विद्यार्थीले गम्भीर भावका साथ सोधेका थिए।

यो प्रश्न सामान्य कौतुहलले मात्र आएको थिएन। यो प्रश्नमा सखुवापर्सौनी गाउँका अधिकांश परिवारको कहर छिपेको थियो।

विद्यार्थीहरूले कक्षामा राख्ने यस्ता सवाल र जिज्ञासा डायरीमा टिपोट गर्छु। उनीहरूले किताबको पाठ यसरी जीवनसँग जोडेर हेर्नु राम्रो हो। यस्ता प्रश्न र जिज्ञासा सुन्दा एक मनमा आनन्द पनि लाग्छ। फेरि प्रश्नै प्रश्नको भड्खालोमा विद्यार्थीहरूलाई छाडेँ भने उनीहरूको सिकाइमा न्याय गरेको हुँदैन भन्ने पनि मेरो मस्तिष्कको एउटा कुनामा खेलिरहन्छ।

एकदिन मैले सबैलाई भेला गरेर यिनै विषयमा छलफल गर्ने सोच बनाएँ। छलफल एउटा निष्कर्षमा पुग्यो– अब हाम्रो गाउँ र विद्यालयका समस्याहरू समाधान गर्न हामी नयाँ ग्याजेटहरू बनाउने।

नैराश्यको प्रतिविम्ब

२०७७ सालको वैशाखदेखि टिच फर नेपालको फेलो (प्रज्ञार्थी) का रूपमा पर्सा जिल्लाको दीपनारायण आदर्श नमूना माध्यामिक विद्यालयमा मेरो कार्यकालको यो दोस्रो तथा अन्तिम वर्ष हो। मेरो फेलोसिपलाई विभिन्न घटनाक्रमद्वारा सिर्जित उतारचढावले निकै चाखलाग्दो बनाइदिएको छ।

गत वर्ष साउनदेखि भौतिक रूपमा कक्षा सञ्चालन भए पनि हामीले त्यसअघि कोभिडबाट सिर्जित परिस्थितिमा अनलाइन माध्यमबाट कक्षा चलाएका थियौं। अनलाइनमा विद्यार्थीको उपस्थिति अलिक पातलो हुन्थ्यो।

मैले पढाउने विद्यालय पर्सा जिल्लाका 'नमूना' विद्यालयमध्ये एक हो। आधारभूत सुविधाहरूमा कमी छैन। अझ कक्षामा प्रोजेक्टर पनि देख्दा त म फुरूंगै भएको थिएँ।

म कक्षा कोठामा पाँच चरणको पाठ योजना तयार गरी पढाउने विधि अपनाउँछु। दोस्रो चरणमा पाठ थप स्पष्टताका साथ बुझाउन विभिन्न प्रकारका सामग्री प्रयोग गर्छु– चार्ट पेपर, श्रव्यदृश्य सामग्री, अभिलेख इत्यादि।

विद्यालयमा प्रोजेक्टर देख्दा लागेको थियो- वाह! गज्जब भयो। अनलाइन पढाउँदा देखाउने श्रव्यदृश्य अब कक्षा कोठामै देखाउने मौका मिल्यो भनेर मख्ख परेँ।

त्यो खुसी र अभिलाषा क्षणभंगुर भइदियो।

विद्यालय रहेको गाउँ सखुवापर्सौनीमा आउने बिजुली पोखरिया नगरपालिकाबाट प्रसारण हुने रहेछ। पोखरिया नगरपालिकामा थुप्रै कलकारखाना छन्। तिनले दिउँसो बढी ऊर्जा खपत गर्ने भएकाले गाउँतिर बिजुली कटौती गरिने रहेछ।

विद्यालय पनि बिजुली कटौतीमा नपर्ने कुरै भएन। पठनपाठनकै समयमा बिजुली नभएपछि प्रोजेक्टर भएरमात्र के गर्नु र!

यो परिस्थितिले म दुखी भएँ।

प्रोजेक्टर प्रयोगमा नआउने भएपछि आफ्नै मोबाइल फोनबाट मिलेसम्म पूरक सामग्रीहरू देखाउने गरेँ।

गत वर्षको माघतिर कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको संक्रमण बढ्न थालेपछि सरकारले विद्यालयहरू केही हप्ता बन्द गर्ने निर्देशन जारी गर्‍यो। 

बालबालिकाले त्यही अवधिमा कोभिड विरूद्धको खोप पनि लिनुपर्ने भएकाले करिब एक महिना विद्यालय बन्द भयो। यत्तिकैमा फेलोसिपको पहिलो वर्ष बित्यो। मलाई विद्यार्थीहरूका लागि कुनै नवीनता पस्कन सकिनँ जस्तो लाग्यो। मनमा निराशा उत्पन्न भयो।

फाटफुट रूपमा कागजका केही मोडल बनाएर सिकाउने र किताब पढाउने बाहेक नयाँपन केही पनि भएन। आफ्नो काममा आफैंलाई चित्त बुझेको थिएन। योभन्दा बढी गर्न सक्थेँ जस्तो लागिरह्यो।

पिइबिएल ल्याबले भरेको उत्साहः

कोभिडका कारण विद्यार्थीको पढाइमा सिर्जित अप्ठ्यारो विविध माध्यमबाट पूर्ति गर्न सोही वर्ष टिच फर नेपालले 'प्लेफुल इञ्जिनियरिङ बेस्ड लर्निङ (पिइबिएल)' ल्याब प्रोजेक्ट दाङ र पर्सा जिल्लामा सुरू गर्‍यो।

पिइबिएल अमेरिकामा रहेको टफ्ट्स विश्वविद्यालय र लेगो फाउन्डेसनको सहकार्यमा सञ्चालन भएको सिकाइको नौलो अभ्यास हो। यसमा विज्ञान र गणित शिक्षकले विद्यालय प्रशासनको स्वीकृतिमा मेकर स्पेस निर्माण गर्ने प्रस्ताव गर्छन् र सिकाइ प्रक्रिया रमाइलो बनाउँछन्।

विद्यार्थीका लागि यो एउटा राम्रो अवसर हो जसबाट आफ्नो वरिपरिका सामग्रीबाट समुदायका समस्याहरू हल गर्ने साधनहरू बनाउँछन्। हाम्रो विद्यालयमा पनि पिइबिएल ल्याब ल्याउने कुराले हामी शिक्षक, विद्यार्थी र विद्यालय प्रशासन खुसी भयौं। पूर्ण रूपमा स्थापना भइसकेपछि सुरूमा ससाना प्रोजेक्टहरूमा काम गर्‍यौं।

मैले विद्यार्थीहरूलाई आफूले जानेको सामग्री निर्धक्क बनाउन पूर्ण स्वतन्त्रता दिएँ। प्रारम्भिक चरणमा उनीहरूले पर्यावरणमैत्री घरको नमूना, मानव फोक्सोको नमूना लगायत विविध चिजहरू बनाए।

त्यसपछि पिइबिएल सामग्रीहरू हरेक शुक्रबारको कक्षामा सामेल गर्न थाल्यौं। केही समयपछि ती सामग्री दिनहुँ उपयोग गर्न थाल्यौं। यस किसिमको प्रयोग गर्न मैले सबै शिक्षकलाई आग्रह गरेँ।

पिइबिएलको दोस्रो लटको सामग्री आउँदा हामी निकै हर्षित भयौं। नमूनाहरू बनाउन कागज र कुट प्रयोग गर्थ्यौं। कागजको सामान कति दिन टिक्नु र!

अलिक दिगो रूपमा चल्ने सामग्रीतर्फ विद्यार्थीहरूको ध्यानाकर्षण गराउनुपर्छ भनेर बाँस, माटो, फलाम, आलुमिनियम, प्लाइवुडबारे बताउन सुरू गरेँ। त्यही सिलसिलामा सर्किट डिजाइन र अरडुइनो कोडिङका बारे पनि आधारभूत ज्ञान दिएँ। एक मानेमा फेलोसिपको जग तयार हुँदै गयो। प्रतीक्षा थियो त सामानको!

दोस्रो लटमा प्रशस्त उपकरण आए– काट्ने आरीदेखि ड्रिल गर्ने मेसिनसम्म। ती सब देख्नासाथ हामी नयाँ सामग्री बनाउन उत्साहित भयौं।

ग्याजेट निर्माण सुरू

गत भदौताका यहाँका ग्यास डिलरले खाना पकाउने ग्यास प्रतिसिलिन्डर दुई हजार रूपैयाँमा बेच्दै थिए। म बस्ने ठाउँ वीरगन्ज नाकाबाट २३ किलोमिटर भित्र थियो जहाँ साढे अठार सय रूपैयाँमा बिक्री हुँदै थियो।

एक त निर्धारितभन्दा चर्को मूल्य, त्यसमाथि पाउने–नपाउने ठेगान नहुने। गाउँको नजिकै राष्ट्रिय निकुञ्ज रहेकोले गाउँलेहरू त्यहीँको जंगलबाट दाउरा ल्याउँथे।

मेरा विद्यार्थीले कक्षामा गरेको उल्लिखित प्रश्नमा गाउँलेहरूको कष्टको अभिव्यक्ति थियो। सधैं वनबाट दाउरा ल्याएर कहिलेसम्म गुजारा गर्नु? कुनै न कुनै दिन त त्यसमा पनि छेकबार लाग्ला। त्यसपछि के बालेर पकाउनु?

यस्तो समस्याग्रस्त परिस्थिति मेरा लागि गम्भीर थियो। कारण जे जे भए पनि समाधान खोज्नु अर्थपूर्ण हुन्थ्यो।

पिइबिएलको सामग्री पाएपछि हामी ग्याजेट निर्माणतर्फ लाग्यौं।

सस्तो विकल्प खोजी गर्दैगर्दा हामीलाई लाग्यो, बायोग्यास किन नबनाउने!

गाउँका धेरै बासिन्दा कृषक छन्। विद्यार्थीहरूलाई ऊर्जाको महत्व थाहा छ। बायोग्यास उत्पादन गर्ने प्रक्रिया जटिल पनि छैन। सडेगलेका र कुहिने वस्तु, भुस, पराल, गोबर एक ठाउँमा खाँदेर राख्दा साता–दस दिनमा मिथेन ग्यास बन्न थाल्छ।

मिथेन पर्यावरणका लागि धेरै हानिकारक हुँदैन। एक पटकको बसाइमा विद्यार्थी भाइबहिनीहरू यो प्रक्रिया जान्न सक्थे। एक थान बायोग्यास बनाउँदा पाँच रूपैयाँ खर्च लाग्ने हिसाब निस्कियो। ठूलो आकारको बनाउँदा सालाखाला सात हजार रूपैयाँसम्म पर्ने र दिगो हुने देखियो।

पिइबिएल मेलामा हामीले यो प्रोजेक्ट प्रदर्शनीमा राख्यौं। निर्माण प्रक्रिया र उपयोगिताबारे जानकारी दियौं। दुई जनाले आफ्ना लागि बनाइदिन आग्रह गर्नुभयो। हामीले बनाइदियौं।

समस्या बुझ्दै, समाधान रोज्दै

एक दिन कक्षामा एक जना विद्यार्थीले एउटा घटनाबारे बताए। उनका छिमेकी छतमा राखेको पानी ट्यांकी भरियो कि भरिएन भनेर हेर्न जाँदा खुड्किलाबाट ढाड र खुट्टा भाँचिएछ। हाम्रो हेडसरको पनि ट्यांकीमा पानी हेर्न जाँदा खुट्टा मर्कियो रे।

यस्तो घटनाका कारणले ट्यांकी भरिएर पोखिँदासम्म मोटर चलाएर पखिर्नुपर्ने भयो। यो समस्या समाधानार्थ हामीले 'वाटर लेभल इन्डिकेटर' (पानीको तह देखाउने सूचक) बनायौं। हेडसरले त्यो सामान खुब मन पराउनुभयो।

वाटर लेभल इन्डिकेटरको बान्कीमा परिमार्जन गर्दै लग्यौं। कार्टनबाट बनाएको प्रोटोटाइपमा पानीको गहिराइ देखाउने बत्ती मात्र थियो। प्लाइबाट बनाएको दोस्रो मोडलमा बजर अलार्म जडान गर्‍यौं। यसलाई अझै परिष्कृत गर्दै तेस्रो मोडलमा दुई वटा बजर लगायौं। सानो स्वरको बजर ट्यांकीमा पानी कम हुँदा बज्छ, ठूलो स्वरको बजर पानी भरिएपछि बज्छ। पानी कम हुँदा रातो र भरिँदा हरियो बत्ती बल्ने बनायौं।

हेडसर हाम्रो पहिलो ग्राहक हुनुभयो। उहाँले प्रयोग गरेपछि माग बढ्यो।

उता विद्यालयमा बिजुली नभएर प्रोजेक्टर यसै थन्किएको थियो। कोभिडले श्रव्यदृश्य माध्यममा पढाउने बानी लगाइदिएको थियो। त्यो नहुँदा खल्लो लाग्थ्यो। मोबाइल फोनको श्रव्यदृश्य सबै विद्यार्थीमा पुर्‍याउन सहज थिएन।

मैले बिजुलीबिनै चल्ने प्रोजेक्टर बनाउन विद्यार्थीहरूलाई उत्साहित गराएँ। हामीले सिंगल लेन्स र डबल लेन्स प्रोजेक्टर बनायौं। यसले मोबाइल फोनको दृश्य ठूलो बनाएर देखाउन सक्थ्यो। युट्युबमा उपलब्ध 'डिआइवाई' (आफैं हेरेर सिक्ने) विधिबाट बनाएका थियौं।

यो क्षणिक नभई दिगो समाधानका रूपमा आएको एउटा ग्याजेट थियो। बिजुली दिनभरि बिजुली नहुने समस्या आफ्नै सिपबाट समाधान भएको थियो।

ग्याजेटहरू बन्ने क्रम धमाधम थियो।

कक्षा आठका एक छात्रले दृष्टिविहीन व्यक्तिहरूलाई हिँड्न सजिलो हुने ग्याजेट बनाए। यो ग्याजेट सेतो छडीमा जडान गर्न सकिन्छ। त्यसले सामुन्नेको अवरोधबारे जानकारी दिन्छ।

कक्षा चारका एक छात्रले सर्पले डसेर लागेको विष तत्कालै निकाल्न सक्ने यन्त्र बनाए। यो यन्त्र निकै सरल र उपयोगी छ। ज्यान बचाउन मद्दत गर्छ।

सिक्ने र सिकाउने

पिइबिएलमा संलग्न कक्षा आठका विद्यार्थीहरू वान वे र टु वे स्विचिङ, हाउसहोल्ड सर्किट, बजर अलार्म सर्किट जोड्न मद्दत गर्छन्। भविष्यको सबै कुरा कसलाई पो थाहा हुन्छ र! वर्तमानमा प्रकाश फिँजाउन सके अगाडिको बाटो बिराइँदैन कि भन्ने हो।

हाम्रा विद्यार्थीहरूले बनाएका यन्त्रहरू काम लाग्ने भएरै हो गाउँमा यसको माग बढेको। यसलाई व्यावसायिक रूपमा विस्तार गर्न सके विद्यार्थीहरूमा उद्यमशीलता विकास हुन्थ्यो।

मेरो फेलोसिप सकिन अब महिना दिन बाँकी छ तर गर्न बाँकी अनगन्ती काम छ। आगामी दिनमा २० किलोमिटर टाढासम्म निःशुल्क कुरा गर्न मिल्ने वाकिटकी बनाउने सुर कसेका छौं।

गाउँमा अझै पनि शौचालय किफायती बनाउन नसक्दा सडक किनारमा शौच गर्ने चलन छँदैछ। एउटा शौचालय बनाउन ७० हजारदेखि एक लाख रूपैयाँसम्म खर्च हुन्छ। गाउँका सामान्य मानिसका लागि यो निकै ठूलो खर्च हो। यो समस्या समाधानका लागि हामी पोर्टेबल (सार्न मिल्ने) शौचालय बनाउने योजनामा छौं।

गएको छठ पर्वको दिन करेन्ट लागेर एक बालकले हात गुमाउनुपर्‍यो। यस्तो समस्या रोक्न एआई रोबोटिक आर्म बनाउने लक्ष्य पनि छ। यससम्बन्धी अध्ययनमा छौं।

यस्ता केही महत्वाकांक्षाले हामीलाई कटिबद्ध भएर काम गर्न हौसला दिएको छ। हामी कागजको मोडलबाट निकै माथि उठिसक्यौं। सिक्ने र सिकाउने गतिविधिमा बिराम लाग्न भएन। फेलोका रूपमा मलाई के थाहा छ भने सबै समस्याको समाधान छ!

(सुशील सिं हाल दीपनारायण आदर्श नमूना माध्यमिक विद्यालय, सखुवापर्सौनीमा टिच फर नेपाल, २०२१ विज्ञान फेलो (प्रज्ञार्थी) का रूपमा कार्यरत छन्। बाराको कलैयाका स्थायी बासिन्दा सुशीलले भारतको चण्डिगढ विश्वविद्यालयबाट मेकानिकल इञ्जिनियरिङमा स्नातक गरेका छन्।) 

[यो लेख सेतोपाटी मा २०७९ चैत्र ७ मा प्रकाशित भएको थियो ।] 

Let's stay in touch.

Contact Information

TFN House
144 Saraswati Mandir Marg, Chakupat, Lalitpur.




P.O. Box: 3739 Kathmandu, Nepal.
(+977) 01-5340105, (+977) 01-5340974

Quick Links