आशाका किरणहरु

Oct. 26, 2016

- नेतृत्व विकाश प्रमूख प्रश्नील नेपाल

 

कामको सिलसिलामा धनुषा जानु थियो, गएँ रमाउँदै | सिन्धुपाल्चोकमा चिसोले दुखेको घुँडा सुमोको अगाडिको सिटमा बस्दा सेकाएँ । गर्मीको मजा लिँदै पुगेँ धनुषा । प्रविन दाइको बाइक पछाडी बसेर घुमेँ   धेरै जसो ठाउँहरु । गंगा सागर, भात खाने होटल, कटरैट, बक्चौडा, नागरैन अनि प्रभाकरको घर । जता गए पनि एउटा कुराले मन सारै नै खायो, फोहर । जताततै फालिएको फोहर, धुलोको कुहिरो अनि बाटो छेउको नाली जहाँ बास्तवमै ढल बग्थ्यो । राजमार्ग सहित अन्य साखा बाटोहरुको हालत करिब करिब सबै नै त्यस्तै थियो । पानी परेको बेला घुँडासम्म ढल जम्ने गर्छ, स्कुल जान नै गार्हो हुन्छ, एक जना फेलो भन्दै थिए । बाटो बिरलै पिच थिए । सोच्दै थिए यहाँको विकाश बजेट कहाँ जान्छ भनेर । अझै सोचेँ यो समस्याको समाधान के त  भनेर । तर अँह केहि उपाय पाउनै सकिन, निरासा छायो मनमा । जेठको चर्को घाम भन्दा बढी फोहरले मन पोल्न थाल्यो ।

 

यत्तिकैमा प्रविन दाइले मुझेलियाका फेलोहरुलाई भेट्न जाने कुरा भन्नु भयो । स्कुल लानु हुन्छ होला भन्ठानेको, एउटा पुस्तकालय पो छिराउनु भयो । भारतको सहयोगमा दुइ तले भवनमा अवस्थित पुस्तकालय सुनसान थियो । माख्लो तलामा गयौँ, १०-१५ जोर चप्पलहरु मिलाएर राखिएका थिए भर्याङको खुड्किलाहरुमा । भित्तामा हस्त लिखित सूचना टालिएको थियो, “ भित्र चप्पल लगाएर गएमा ५ रुपैया जरिवाना गरिनेछ ।” रंगिन ती अक्षरहरु ठम्याउन सकिन्थ्यो कुनै नानीले लेखेको हो । वातावरण शान्त थियो । ढोकाबाट छिरेँ, केटाकेटी गोलबद्ध थिए, ध्यानमग्न । प्रतीकले इसारामा स्वागत गरे । अनुभा र सोनोन पनि बच्चाबच्चीहरुसँगै   ध्यानमा लिन थिए । म भित्ताहरु तिर टहलिन थाले । विभिन्न कागजी आकृतिले सजाइएका भित्ताहरुमा एउटा चार्ट पेपरमा लेखिएको थियो “MSSYC” । पुरा रुप हेर्न नपाउँदै  ध्यानको समय सकियो अनि रिफ्लेक्सन सुरु भयो । सबैले आफ्नो कुरा भनेपछि अनुभाले भनिन्, “ आज हामी कतिबेर ध्यान गर्यौ थाहा छ ?”

एक जना भाइले भन्यो, “ खै आज त एकै छिनमा सकिए जस्तो लाग्यो ।” 

उज्यालो मुहार बनाउदै अनुभाले भनिन, “ठ्याकै २५ मिनेट ।”

सबैको अनुहारमा अचम्मित भाव देख्न त्यति गार्हो थिएन । अब सर्वे फर्म हेर्ने पालो थियो । के को सर्वे हो मलाई पनि हेर्न उत्सुकता जागिरहेको थियो । A4 पेपरमा हस्तलिखित सर्वेक्षण फारममा धेरै कुराहरु अटाइएको थियो । अन्त्यको प्रश्न थियो, तपाइको घरमा शौचालय छ कि छैन, छ भने कसरी प्रयोग गरिरहनु भएको छ, छैन भने किन छैन ।

 

केटाकेटिद्वारा नै सर्वेक्षण गरिएको थियो । संयुक्त  परिवारमा ससुरा र जेठानले प्रयोग गर्ने शौचालय बुहारीले प्रयोग नगर्ने तथ्य हाम्रा लागि निकै नौलो थियो । आर्थिक रुपमा सबल भए तापनि शौचालयलाई प्राथमिकतामा नराख्ने, घरमा LED टेलिभिजन हुने तर शौचालय बनाउन गरिवीलाई दोष दिने जमात पनि निकै रहेछन् । बढो अचम्म लागिरहेको थियो । खेतका आलिहरुमा हुने शौचको बारेमा त सुनेको थिए । तर त्यसलाई कहिल्यै समस्याको रुपमा लिएको थिइन । पछि कुराको क्रममा थाहा भयो कि यो सामान्य सुनिने समस्याले कति सताएको छ भनेर ।

 

अनुभाको स्कुल जाने एउटा साँगुरो बाटो छ जहाँ पुगेपछि दायाँ-बायाँ नहेरी बीचबाट हिड्न पर्छ, सकिन्छ भने सास नफेरेकै जाति । किनकि बाटोको दुवैपट्टि ताजा देखि लिएर सुकेका मानव बिस्टा र पिसाबका धारा देख्न सकिन्छ । गर्मीले बफिएर आएको गन्धले नाकलाई दिने सास्ती बेग्लै छ ।

 

अनुभाको कुरा सकिन नपाउँदै  सोनोनले थपिन, “अझ  बिहान उठ्ने बित्तिकै फ्रेस हावा खाउँ भनेर बाहिर बरन्डामा निस्कियो, अगाडी खेतमा लोटा अगाडी राखेर, लाइन लागेर, नित्यकर्म गर्न टुक्रुक्क बसेका हुन्छन । त्यो दृश्य हेरेर सुरु हुन्छ हाम्रो दिन ।” हाँसोको फोहरा चल्यो । फेलोसिपको रमाइलो, आफुलाई परेको जति ठुलो समस्यामा पनि हास्न सक्छन फेलोहरु ।

 

कोठामा अचम्मको शान्ति छायो । अनि बहन थालिन् अनुभा, “मुझेलिया र सोहनि दुइ गाउँ प्राकृतिक सुन्दरताले भरिपुर्ण छन् । धेरै सफा र हरियाली छन् यहाँका गाउँहरु । तर ट्वाइलेटको प्रयोग नगरिएकोले गाउँ दुर्गन्धित भएको छ । यो कुराले हामीलाई धेरै नै टोकासी रहेको थियो । हामी तीनले गरेर मात्र यो समस्या को समाधान सम्भव थिएन । अनि जन्म भयो MSSYC (Mujheliya Sohani Student Youth Club) को ।” ​

 

सधै स्कुल जाँदा बाटोमा शौचले स्वागत गरेको हुन्थ्यो । हरेक दिन दुर्गन्धित बाटोबाट हिड्दा मन आफै नै निरास हुन्थ्यो । आवत-जावत गर्दा काम गर्ने जाँगर पनि कतै हराएको महसुस हुन्थ्यो । एक दिन स्कुलबाट फर्किँदै गर्दा यस बारेमा बच्चाहरुसँग कुराकानी भयो । हामीलाई जस्तै उनीहरुलाई पनि फोहर बाटोले अफ्ठेरो महसुस भइ रहेको रहेछ । यसबारे केहि गर्ने इक्षा हुँदा हुँदै पनि के गर्ने थाहा नभएको जानकारी गराए हामीलाई विध्यार्थीहरुले । उनीहरुसँग छलफल गर्दा गर्दै क्लबको स्थापना गर्ने निर्णय भयो ।”

 

क्लब स्थापना गर्नुको अर्को उधेश्य पनि रहेछ उनीहरुको । सोनोनको अनुसार, केटाकेटी र समुदायका मानिसहरुलाई गाउँको सुन्दरता र उनीहरु संकृतिक रुपमा कति धनी छन् भनेर महसुस गराउने काम पनि यो क्लबले गर्दछ । यसको साथसाथै खुल्ला दिसा गर्ने बानीले गाउको सुन्दरता त बिगार्छ नै, बिभिन्न खाले रोगहरुले पनि सताउँछ भन्ने चेतना जागृत गर्नु अर्को प्रमुख काम हो ।

 

केटाकेटीहरुमा आफ्नो समस्याको समाधान गर्नसक्ने आत्मबिस्वासको विकास गर्नु क्लबको मुख्य लक्ष हो ताकी उनीहरु अरु कसैको मुख नताकिकन नकारात्मक सोच र काम बिरुद्ध आवाज उठाई केहि पहल गर्न सकुन । गाउँ सफा गर्ने काम त एउटा माध्यम मात्र हो भन्ने सोनोनको बुझाई छ ।

 

क्लबका सुरुवाती दिनहरुमा निकै समस्या झेल्न परेछ उनीहरुले । मधेसका ती गाउँहरुमा महिलाले केहि कुराको सुरुवात गर्नु भनेको अचम्मको कुरा रहेछ । पहिले समुदायले निकै नै शंका गरेछन् उनीहरुलाई र अचम्म अचम्मका प्रतिक्रिया आउन थालेछन । दुइ चार दिनको चुरीफुरी नै त हो, पछी आँफै सेलाउँछन् भन्ने सम्मको कुराहरु सुनेछन् उनीहरुले । तर बिस्तारै घर-घर गएर कुराकानी गर्दै गएपछि कुरा बुझेछन् गाउँलेहरुले । पहिले देखि नै चिसो सम्बन्ध रहेको दुइ फरक प्रकृतिका गाउँहरुको बच्चाहरुमा सहकार्य गराउन नै सुरुवाती दिनहरुमा निकै काम गर्न परेछ उनीहरुले । काम भन्दा रमाइलोका लागि आउने बच्चाहरुको उपस्थितिलाई सम्हाल्न पनि निकै गार्हो भएछ उनीहरुलाई । क्लब कार्ड र उपस्थितिलाई प्राथमिकतामा राख्न थालेपछि भने सदस्यहरु अलि गम्भीर भएर लाग्न थालेछन ।

 

सबै चुनौतिहरुलाई पार गर्दै गएपछि केहि आशाका किरणहरु देखा पर्दै गएको छ आजकल । राजेश जो क्लबका सक्रिय सदस्य हुन्, उनको अभिभावकले आफ्नो घरमा १५ दिन भित्र शौचालय बनाउने निर्णय गरे । यो कुरा थाहा पाउँदा सोनोन निकै नै खुसि भएकी थिइन् रे ।

 

क्लबको सदस्य सुदिप, जो समस्याहरुमा पनि सम्भावना देख्ने गर्छ तर आत्मविश्वासको कमि थियो उसमा । हरेक पटकको मिटिंग पछी Heart Beat Pass गर्ने गरिन्थ्यो । एकदिन उसले अनुभालाई भनेछ, “मिस आज म गराउछु नि है Heart Beat Pass ! ” उसले त्यो भनिरहँदा अनुभाको मन ढक्क फुलेको थियो रे ।

 

महजोडीको सुगन्धपुर देखाएर सुरु भएको यो अभियानको भाबी योजना स्थानीय भूतनाथ मन्दिरपरिसरलाई एकल पहलमा सफा गर्ने श्री पवन सिंघानिया अनि रोटरी क्लबका सदस्यहरुलाई पनि MSSYC मिटिंगमा निम्त्याई केटाकेटीलाई हौसला प्रधान गराउने छ । जनकपुरलाई फोहरले छोप्दै गइरहेको अवस्थामा मुझेलिया र सोहनी गाउँलाई “खुल्ला दिसा मुक्त क्षेत्र” घोषणा गर्ने लक्ष लिई अगि बढ्दै छन् यी तीन, सोनोन, अनुभा र प्रतिक । अनि उनीहरुको साथमा छन् ती बच्चाहरु जो आफ्नो गाउँ आफै बनाउन लागि पर्दैछन्  ।

 

सरसफाइमा स्थानीय प्रशासनको कुनै उपस्थिति नदेखिरहँदा निराश भैसकेको म उनीहरुको कुरा सुनेपछि भने आशाबादी भएको छु । उनीहरुको कामले कुनै ठुलो उथलपुथल नल्याएतापनि शान्त तलाउमा तरङ्ग पैदा गर्न भने अवश्य सफल भएको छ । आशा छ कुनै दिन पत्र-पत्रिकामा पढ्न पाउनेछौं, “मुझेलिया र सोहनी गाउँ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा |”

 

(अनुभा उप्रेती, सोनोन चौधरी र प्रतिक घिमिरे टिच फर नेपालको फेलो-२०१५ का रुपमा बिगत १७ महिना देखि धनुषा जिल्लाको श्री मा. वि., सोहानी-मुझेलियामा अध्यापन गर्दै छन् | )

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links