खुशीका पलहरु

June 23, 2016

२०१६ फेलो रतन प्रसाद देवकोटा

दिउँसो पानी परे पछि आकाश खुला भएको थियो | यध्यपि कपासझैँ सेता केहि बादलका टुक्राहरू पश्चिम आकाशमा सल्बलाउँदै थिए | बादलको तल हरियो घुम्टो ओडेर पहाडी थुम्काहरु ध्यानरत् बसेका देखिन्थे | मानौ थुम्काहरुले पनि धर्तीबाट मुक्ति खोजिरहेका छन् | सिम्ले गाउँबाट उत्तरतिर हेर्दा हेटौडा काठमाडौँ जोड्ने कान्तिराज पथ पहाडको कम्मरै कम्मर बक्ररेखा बनेर बगेको देखिन्थ्यो | पुर्वमा माझखण्ड, पश्चिममा मकवानपुर, उत्तरमा दल्चोकी डाँडा, भट्टेडाँडा निश्चल देखिन्थे | घाम अघिनै छितिजमा डुबिसकेकोले अध्यारोले आफ्नो साम्राज्य चारैतिर फैलाउँदै थियो |

घडीमा घण्टा सुइ ६ मा, मिनेट सुइ ४६ मा र सेकेन्ड सुइ बफादार भएर घुमिरहेको थियो | तीनजना विद्यार्थी हामी बस्ने भवनमा आए | हामी बस्ने घर विद्यालयकै भवन हो | त्यसपछि अफिसमा गएर आवश्यक सामग्री झिक्यौं | म सहित तिनजना विद्यार्थी चौतारा तिर लाग्यौं | विद्यालय र चौतारा बिचको दुरी झन्डै एक कि. मि. जति होला | बाटोको दायाँबायाँ बर्खे झार र सिस्नु आकाशतिर हेरिरहेका थिए | हिँड्दाखेरि बडो सतर्क भएर हिंड्नु पर्छ | बाटो साँघुरो छ | सिस्नुले कुनै पनि बेला पोल्न सक्छ भन्ने डर मनमनै लागिरहेको थियो |

“आज खुब रमाइलो हुने भयो सर !” स्पिकर बोक्दै गरेको विद्यार्थीले हर्षित मुद्रामा भन्यो | साथमा दुइ विद्यार्थी थिए | एउटाले मल्टिप्लग र तार बोकेको थियो | अर्कोले प्रोजेक्टरको लागि सेतो पर्दा बोकेको थियो | तिनीहरुको पनि मुहार खुशीले धपक्कै बलेको देखिन्थ्यो |

“रमाइलो मात्र होइन ज्ञान लिने अवसर पनि हो |” मुस्कुराउँदै जवाफ दिएँ | विद्यार्थीले टाउको हल्लाएर हो भन्ने संकेत दिए | जेठ २८ गते शुक्रबार | दिउँसो नै हामीले विद्यालयमै समुदायमा चेतनामुलक फिल्म देखाउँदै छौं भनेर जानकारी गरिसकेका थियौं | साँझ ७:३० बजेबाट फिल्म प्रदर्शन हुने कुरा तय भएको थियो | गएको वर्षबाट विद्यालय र समुदाय बिचको खाडलको अन्त्य गर्न, विद्यालय र समुदायबिचको सम्बन्धलाई बलियो बनाउन यो अवधारणा विद्यालयको निर्णयमा सुरु गरिएको थियो | विद्यार्थीको पहुँच समुदायसम्म पुर्याउन तथा उसको नेतृत्व क्षमता बिकाश गर्नकालागि पनि यो निकै फलदायी बन्न सक्छ | त्यस्तै समुदायमा शिक्षा, स्वास्थ्य, वातावरण आदि विविध विषय सम्बन्धि जनचेतना जोगाउनकालागि पनि यसले ठुलो राहत गर्छ | गएको शृंखलामा हामीलेनै सबै कुरा जम्मा गरेर फिल्म प्रदर्शन गरेका थियौं |

तर यो शृंखलाबाट कक्षा १० का विद्यार्थीलाई फिल्म प्रदर्शनीको तयारीकालागि जिम्मेवारी दियौं | हामीले फिल्म छनोट मात्र गर्ने | त्यसपछि बाँकी प्राविधिक पाटो, सूचना दिने काम सबै विद्यार्थीले गर्छन् |  

विद्यालयबाट चौतारा पुग्न झन्डै १० मिनेट जति लाग्यो | लाकुरीको रुख चौताराको बिचमा आकाशतिर हात फैलाएर चिहाइरहेको थियो | चौताराको छेउमा गुम्बा छ | गुम्बाको ढोका पश्चिमतिर फर्किएको छ | ढोकाको अगाडि अर्धवृत्ताकार आँगन छ | आँगनको बिचमा पंचरंगी दारज्योंग (गुम्बामा फहराउने ध्वजा) उत्तर दिशा तिर फहराई रहेको थियो | विद्यार्थीले लामाको घरमा गएर गुम्बाको साँचो मागेर ल्याए | म्याटहरु झिके | ढोकाको दायाँ भित्तापट्टि सेतो पर्दा टांगे | अनि भित्रबाट तार स्पिकरसम्म जोडे | मोबाइलको ब्लुटुथ अन गरे | तामाङ सेलो स्पिकरबाट घन्किन थाल्यो | साना-साना नानीहरु, सर लास्सो !! सर नमस्कार !! भन्दै आगनमा ओहिरिन थाले | खुशीले खुब चन्चल थिए | अनि गीतको धुनसंगै नाच्न थाले | मलाई पनि नाचुँ नाचुँ लाग्यो | मैले पनि नानीहरुसँग नाचे जस्तै गरें | किन अलि ठूलो उमेर समूहका बालबालिकाहरु पनि त्यहाँ जम्मा भएका थिए | मैले नाच्न आग्रह गरें | तर नाच्न मानेनन् | कम उमेरका भाईबहिनीहरु मजाले नाचिरहेका थिए | किन अलि ठुलो उमेरका भाईबहिनीहरुले नाच्न मानेनन्? किन यति धेरै लजाए? मनभित्र प्रश्न उब्जिए | समाजले अलि बढी नियन्त्रण गरिसकेको भएर हो कि? मनमनै सोचेँ |

मानौ गुम्बाको अर्धवृत्ताकार आगनमा कुनै सुन्दर फूल फुलेको छ | जहाँ मान्छेहरु रमाइलो र ज्ञानको रस लिन पबित्र मनले जम्मा हुँदैछन् | प्रत्येक हप्ताको एक दिन चेतनामुलक फिल्म देखाउने गरेको छौं | ७:२५ तिर सुमित र सन्तोष ल्यापटप र प्रोजेक्टरक साथ उत्साहित हुँदै आगनमा पुगे | साँझ गाढा हुँदै गयो | मान्छेहरु थपिदै गए | गुम्बाको आगन भरिँदै गयो | ४-५ बर्षका नानीदेखि ६० बर्ष भन्दा माथि उमेर समूहका अभिभावकहरु मोबाइलको बत्ति बाल्दै आगन तिर आउँदै थिए | आधा घण्टाको बाटो हिँडेर पनि फिल्म हेर्न आउँदै थिए | घडीमा ७:३२ बजिसकेको थियो | अचानक बत्ति गयो | मलाई नरमाइलो लाग्यो | बत्ति दुइ चार मिनेटमा आउँछ भन्दै थिए सबै जना | करिब १० मिनेटपछि बत्ति आयो | जब बत्ति आयो, संसारकै महँगो बस्तु प्राप्त गरेजस्तो महसुस भयो | “आयो आयो” भन्दै मान्छेहरु खुशी हुँदै कराए |

 

 

फिल्म प्रदर्शन कार्यक्रम ७:५० बाट सुरु भयो | फिल्म प्रदर्शन पुर्व कक्षा १० मा अध्ययनरत एक छात्राले सबैलाई सम्बोधन गर्दै गुम्बामा जम्मा हुनुको उदेश्य बताइन् | त्यसपछि चण्डेश्वरीकै एकजना स्थानीय शिक्षकको भिडीयो देखायौं | शिक्षक मदन लामाले जीवन संघर्ष, बैबाहिक जीवन र आफूले जाँडरक्सि, चुरोट सेवन कहिल्यै नगरेको र असल लोग्ने हुनकालागि धुम्रपान, मध्यपान तथा अन्य नराम्रा कामबाट टाढा बस्नु पर्ने कुरा राखे | आफू पनि असल लोग्ने बन्न प्रयास गरिरहेको सन्दर्भ जोडे | त्यसपछि ‘असल लोग्ने’ फिल्म पर्दामा सुरु भयो | महजोडी लगायत अन्य कलाकारको बेजोड अभिनय हेर्दै गर्दा, दर्शकहरु उतिखेरै मौन हुन्थे | आँखाहरु रसाउन थाल्थे | उतिखेरै गलल हाँस्थे | हाँसोको फोहोरा हावामा मिसिन्थ्यो |

मान्छेहरु १५० भन्दा बढी उपस्थित भएका थिए | मैले सोचेको पनि थिइन यति धेरै मान्छेहरु जम्मा हुन्छन् भनेर | दर्शकहरु पर्दामा चलिरहेको चित्र र आवाजलाई ध्यान दिइरहेका थिए | म भने फिल्म भन्दा मान्छेको मुहारको भाव पढ्नमा ध्यान दिइरहेको थिएँ | अर्धवृत्ताकार चन्द्रमा, अर्धवृत्ताकार गुम्बाको आगनमा फिल्म हेरिरहेका मान्छेलाई एकोहोरो हेरिरहे जस्तो लाग्यो | जूनभन्दा माथि ताराहरु चमचम चम्किरहेका थिए | गुम्बाको आगनबाट हेर्दा अर्धवृत्ताकार चन्द्रमाले आगनसँग ६० डिग्रीको कोण बनाएको जस्तो लाग्थ्यो | गुम्बाबाट जताततै हेर्न सकिन्छ | पारी भट्टेडाँडा, छेपेली, मकवानपुर, प्युटार, बगुवाका घरहरु मा धिपधिपे बत्ति बलेको देखिन्थ्यो | आकाशमा तारा देखिएझैँ घरघरमा बत्ति बलिरहेको देखिन्थ्यो |

फिल्म एक घण्टा प्रदर्शन भए पछि विद्यालयकै कर्मचारी चन्द्रबहादुर स्याङ्तानले ‘असल लोग्ने’ फिल्म हेरेर- सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गरौं; जाँड, रक्सि, चुरोट नखाऔं’; फिल्म आँखाले नहेरौँ, मनले हेरौं; असल लोग्ने बन्ने प्रयास गरौं”- तामाङ भाषाबाट भन्नुभयो | जुन भिडियो हामीले दिउँसो नै रेकर्ड गरिसकेका थियौं | उहाँ दुवैजना तामाङ समुदायकै भएर पनि धुम्रपान, मध्यपान गर्नु हुँदैन | त्यसैले पनि उदाहरणीय व्यक्तिको भिडियो लिएका थियौं | रातको ९:४४ भएको पत्तै भएन | ‘असल लोग्ने’ फिल्म हेरेर सकिएपछि पनि फिल्म अलि लामो भए हुन्थ्यो भनेर प्रतिक्रिया आइरहेका थिए | कसैकसैले त अर्को पनि फिल्म हेरौं भन्नुभयो, जुन हाम्रो लागि अलि असम्भव हुन्थ्यो | हामीलाई भोक लागिसकेको थियो | रुममा गएर खाना पकाउनु पर्थ्यो | त्यसपछि मान्छेहरु आ-आफ्नो घरमा लागे |

एकै छिन मान्छेले भरिएको आगन शुन्य भयो | कोहि-कोहि त ठूलो-ठूलो आवाजले हाँस्दै घर तिर फर्कंदै थिए | सायद फिल्म को पात्र सम्झेर होला | फिल्म देखाउन प्रयोग गरिएका सामान कक्षा १० का विद्यार्थीले उठाए | गुम्बाको ढोका बन्द गरे | चार जना विद्यार्थीले स्पिकर, तार, पर्दा र प्रोजेक्टर बिद्यालयसम्म पुर्याउन आए | सबै खुशी देखिन्थे | आकाशबाट अर्धवृत्ताकार चन्द्रमाले धर्तीलाई चिहाइ रहेको थियो | विद्यार्थीहरु “सी यू टुमोरो सर” भन्दै आ-आफ्नो घर लागे | हामी तिनै जना मनभरी खुशी र उमंग बोकेर रुमतिर लाग्यौँ |

२०१६ फेलो रतन प्रसाद देवकोटा हाल  ललितपुरको चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्यापन गर्छन् | 

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links