सिकाई, भोगाइ र गराइका मेरा दुई वर्ष - किशोर सुबेदी

May 23, 2019

नमस्कार, 

म किशोर सुवेदी, टिच फर नेपालको पाँचौँ समुहको प्रतिनिधित्व गर्दै बोल्दैछु ।

राजधानी बाट ४० कि. मि. मात्र टाढा, एक महिना भयो कच्ची सडक पूगेको, खानेपानीको समस्या, तामाङ्ग समुदायको एकल बस्ती । दक्षिण ललितपुरको वागमती गाउँपालीका प्यूटार ४ सिम्ले । मैले २ बर्ष यहाँ रहेको श्री चण्डेश्वरी मा. वि. मा विज्ञान फेलो को रुपमा काम गरें ।

म फार्मसिउटिकल्स साइन्सको विद्यार्थी हुँ । मानसिकता र संस्कार परीवर्तन नगरेसम्म परीवर्तन सम्भव छैन भन्ने बुझाइका साथ एक दशक को सक्रिय राजनितिलाइ छाडेर यस अभियानमा आबद्ध भएको हूँ ।

सुनिता थोकर कक्षा ९ की छात्रा, एक बर्ष विद्यालय छाडेर घर नजिकैको विद्यालयमा नगइ झण्डै दुई घण्टा उकालो ओरालो हिंडेर हाम्रो विद्यालयमा आइन् । स्वभावले अति लजालु, कक्षामा प्राय शिर निहुर्याएर बस्ने, शारिरीक रुपमा अस्वस्थ र घरको कमजोर आर्थीक अवस्था । फुटबल खेल्न साह्रै मन पर्नै उनिलाइ, डोको, चकटी, मोडा बनाउने सिप थियो । खेल्दै र खेलाउँदै उनको सिपलाइ पढाइ संग जोड्न विज्ञान र प्रविधि संग सम्बन्धित स्टेम क्लब बनाएर सिकाँए । विज्ञान तथा प्रबिधि मन्त्रालयले आयोजना गरेको भविश्य स्टेम च्यालेन्ज २०७४ मा उनको टिमले उत्कृस्ट समुह कार्य (Best Teamwork Award) जित्यो । गलामा मेडल, हातमा प्रमाणपत्र र ट्रफी लिदै उनले मलाइ भनिन् ः

‘सर लजाउन हुदैन रैछ । मिहिनेत गरेर निरन्तर काम गरे सफल भइदोरहेछ है ।’

अहिले उनी अरुका अगाडी सजिलै बोल्न, मनका कुरा भन्न र काम गर्न सक्छिन् । भविश्यमा डाक्टर बन्ने उनको सपना छ ।

हामी संग सुनिताका जस्तै धेरै कथाहरु छन् ।

आजभन्दा २ बर्ष ६ महिना अगाडी Teach For Nepal मा आवेदन दिदाँ मनमा धेरै द्धन्द्धहरु थिए । आफ्ना समकक्षिहरु कोहि विदेश त कोहि स्वदेशमा राम्रो कहलिएका जागिरमा थिए ।

गाउँमा जाने, उतै बस्ने र पढाउने कुरा गर्दा बा आमाले निधारमा गाँठा पार्नुहुन्थ्यो, नाक खुम्च्याउनुहुन्थ्यो र प्रश्न गर्नुहुन्थ्यो :

रङ्ग ढङ्ग की तैंले के समाज परीवर्तन गर्लीस् खै छोरी ?

तेरो यस्तो अल्लारे पाराले पनि देश बदलिन्छ छोरा ?

आफ्नो मनले प्रश्न गथ्र्यो :

आफ्ना मान्छेहरुलाइ अध्यारो बनाएर उज्यालो संसार बनाउन सकिएला त ?

देश परीवर्तन गर्ने उत्कट चाहाना प्रतिबद्धताले यो असाधारण निर्णय लियौं

आफ्नै ३ महिनाको काखको छोरीलाइ छाडेर जानुपर्दा, छुट्ने वेलामा आँखा हेराहेर भए तर कुनै शब्द निक्लेन ।

विद्यालय जानुपूर्व पाँचौ कोहोर्टका हामी सबै प्रज्ञार्थी आवासीय तयारीमा जुट्यौं । हामीले आ–आफ्ना कथाहरु सुनायौं । आँफूले विगतमा गरेका र भोगेका अन्याय, अपमान, विभेदहरु सुनायौं । आफ्ना जीवनका सत्य कथालाइ केन्द्रमा राखेर हामीले समाजको बनोट, चरित्र, इतिहाँस, संस्कृति र भूगोल बुझ्ने बुझाउने कोशिस गर्यौँ। विषयगत ज्ञान सिप पनि संगसंगै सिक्दै गयौं ।

हो हाम्रा आँशुहरु एकै ठाउँमा पोखिए, हाँसोहरु गुन्जिए, आक्रोश र भावुकता देखिए । यिनै संवेगले हामीलाइ एउटा परिवार बनायो ।

शिक्षक हुनुको अर्थ कति बलशाली र प्रभावशाली रहेछ गहिरो महशुस गर्यौँ र गाउँ गाउँमा पस्यौं ।

शुरुका तीन महिना समुदाय, विद्यालय र विद्यार्थी संग परिचित हुदै, बुझ्दै, सिक्दै र सम्बन्ध बनाउँदै बित्यो ।

यता शहर, उता गाउँ

यता रुचि रोजाइको आहार, उता अभाव बाध्यताको रोजाइ

यता बा, आमा, परिवारको काख, उता विरानो संसार

यता आरामको निन्द्रा, उता टहराको छिद्रा

 

दैनिकी असहज र अस्तब्यस्त बन्दै गयो, मन बेचैन । बा आमाले भनेको खुब याद आयो । फेलोशिपको आफ्नै निर्णय फलामको चिउरा चपाएजस्तो भयो ।

तर, मनमा भारी हुँदहुँदै पनि हामीले हाम्रा कर्महरु गर्न छौडेनौं । अभियानहरु चलायौ, विद्यार्थीको घरघरमा पुग्यौं, उनिहरुका कथा सुन्यौं, हाम्रा कथाहरु सुनायौं । जस्तोसुकै कठिन अपस्थामा पनि ओँठमा मुस्कान, मनमा पवित्रता, मस्तिष्कमा योजना र मुटुमा भावना लिएर पूर्ण तयारीका साथ आफ्नो सम्पूर्ण उर्जा लगाएर समयभन्दा अगाडी नै विद्यालय र कक्षाकोठामा छिर्यौँ, आवश्यकता अनुसार विहान र साँझ अतिरीक्त कक्षाहरु संचालन गर्यौँ ।

विस्तारै हाम्रा पाइलाहरुले गति लिन थाले । हामीले आफ्नो असहजताको घेरा तोड्दै:

नाच्न जान्नेलाइ संगै नाचेर सिकायौं

गति गाउन जान्नेलाइ गीत गाउँदै सिकायौं

चित्र बनाउन जान्नेलाइ चित्र बनाउँदै सिकायौं

अभिनय गर्न जान्नेलाइ नाटक खेल्दै सिकायौं

खेल मन पराउनेलाइ खेल्दै सिकायौं

उनिहरुको भाषा सिक्यौं हाम्रो भाषा सिकायौं

उनिहरुसंगै खाजा खायौँ, डुल्यौं

 विद्यार्थीका साना–साना सफलतालाइ सम्मान गर्यौँ

गल्ती गर्दा गाली गरेनौ, गल्तीबाटै सिकायौ

संगै रोयौं, संगै हास्यौं

कहिले कक्षाकोठाभित्र कहिले कक्षाकोठा बाहिर सिकायौं

दिनहरु बित्दै जाँदका विद्यार्थिले दाइ दिदी भनेर बोलाउन थाले, घरबेटी बा–आमाले थकाइ लागेको बेला सुकुल, भोक लागेको बेला मकै, भटमास, तरुवा र तिर्खा लागेको बेला पानी दिनुभयो ।

मन हलुका भयो, मस्तिष्क तेजिलो ।

हेर्दाहेर्दै विद्यार्थिको मुहारमा मुस्कान देखिन थाल्यो । परीक्षामा नम्बर बढ्न थाल्यो । माध्यमिक तहका A B C D लेख्न र भन्न नसक्ने विद्यार्थिले अग्रेंजीमा वाक्यहरु लेख्ने भए । गणित गाह्रो लाग्ने विद्यार्थिहरु खेलिखेली रमाएर गणित पढ्न थाले, विद्यालयमा नाफा, नोक्सान मेलाहरु भए, स्थानिय स्रोत र सामाग्री प्रयोग गरी बनाएका बाँसको ल्याम्प सेड, चकटी, मुडा, पेपर क्राफ्ट, हेन्डिंक्राफ्ट विद्यार्थिले आफै बनाएर व्यापार गर्न सुरु गरे । विद्यालय र समुदायमा कम महत्व दिईने छात्राहरुको समस्या समाधान गर्न गर्ल्स क्लब गठन भए, मेन्स्ट्रल हाइजिन, किशोरावस्थाको बारेमा परामर्श दियौं । सेनिटरी प्याड विद्यालयमा विद्यार्थिले नै बनाउन थाले ।

विज्ञान प्रविधि , ईन्जीनियरिङ, कला र गणितलाई एकिकृत गरी स्टेम क्लब निर्माण भए । विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको ‘भविष्य  राष्ट्रिय स्टेम च्यालेन्ज प्रतियोगिता २०७४ मा हामीले प्रतिनिधित्व गर्ने सामुदायिक विद्यालयको उल्लेखिय सहभागीता रह्यो । यतिमात्र होईन प्रतियोगितामा संलग्न कयांै संस्थागत र सामुदायिक विद्यालयलाई पछि पार्दै सर्वत्कृष्टं पुरस्कार सहित थुप्रै विधामा हामी आफैले सुपरभाइज गरेका विद्यालयहरु पुरस्कृत भए । २०७५ मा भएको सोहि प्रतियोगितामा पनि हामी सहभागी भयौं र पुरस्कृत भयौं ।

स्थानिय सरकार संग सहकार्य र साझेदारी गरी विद्यार्थिको वहुआयमिक प्रतिभा उजागर गर्न हाम्रो सोच र पहलकदमी अनुसार गाउँपालिकाको आयोजनामा ‘आयुम’ शैक्षिक मेला सफलतापुर्वक सम्पन्न गर्न÷गराउन सफल भयौं ।

हरेक विद्यार्थी फरक तर विशिष्ट हुन्छन् तसर्थ उनिहरुको क्षमता र सृजनशिलतालाई उचित अवसर दिन सिकाइ केन्द, लर्निङ सेन्टर (Learning Center), फालिएका बोतलबाट सिकाइ केन्द्रका कोठाहरु निर्माण भए । टोलटोलमा सिकाइ अभियान चल्यो । स्थानि शिक्षकसंग सहकार्य गरी सिक्न/ सिकाउन शिक्षक सिकाइ अभियान संचालन भयो ।

कम्प्युटर नै नदेखेका विद्यार्थिले कम्प्युटर चलाउन मात्र होईन आँखै अगाडि प्रोग्रामिङ (Programing)  गर्न सफल भए ।

हरेक कथाका दुई पाटाहरु हुन्छन । हामीसंग पनि सफलतका मात्र होईन असफलताका र अधुरा कथाहरु छन् तर हामी निरन्तर सिक्दै, काम गर्दै र अगाडि बढ्दै जाने कुरामा विश्वास राख्छौं । फर्केर हेर्दा हाम्रो सोचाईमा अराजगता, काम गराइमा पागलपन सम्बन्धमा भावुकता भेटिन्छ

पहिलो वर्ष मलाई असफल भए झैं लाग्थ्यो तर त्यो असफलता होईन रहेछ । सफलताको एउटा खुड्किला पो रहेछ । त्यहि असफलताले  काम गर्न छोड्नु हुँदैन भन्ने सिकायो, नयाँ उर्जा दिलायो र सफलताको दियो बलायो ।

विन्स्टन चरचिल (Winston Churchill) ले भनेका छन् :

"Success is the ability to go from one failure to another with no loss of enthusiasm" निरन्तर कर्म गर्नुर्पेरहेछ ।

Don’t give up rather Go for trial and error, मेरो मन्त्र बनेको छ .

हाम्रो काम गर्ने तरीका र शैली फरकफरक थिए होलान् तर अभावको बिचबाटै स्रोत र समस्याको बिचबाटै समाधान निकाल्न हामी सफल भयौं । समस्याको समाधान स्थानिय स्तरबाट नै खोज्नुपर्नेरहेछ र हरेक समस्याको एउुटा मात्र समाधान नहुनेरहेछ । हामीले Ready made समाधान होईन, समस्याको समाधान गर्न सक्ने ज्ञान, सिप र कला सिकेका छौं । यो धेरै महत्वपूर्ण हो जस्तो लाग्छ ।

हामीले गाउँ शहर दुबै चिनेका छौं समाजको चरित्र प्रणालीको बारेमा गहिरोसंग बुझेका छौं

हामीले खोजेको परिवर्तन प्रणालीगत परिवर्तन Systemic Change नै हो । यसका लागि हामी सबैको मानसिकता र संस्कार परिवर्तन हुन जरुरी छ । हामीसंग भएका माटो छोएको अनुभवहरु र कर्म मिसिएका हातहरुलाई यहि परिवर्तनको लागि समर्पण गर्न तयार र प्रतिबद्घ छौ तर उचित वातावरण र उपयुक्त स्थान बनाउनुपर्नेछ ।

परिवर्तन सम्भव छ भन्ने हाम्रो साझा निश्कर्ष रहेको छ ।

दुइ बर्षपछि फर्केर घरमा आउँदा बा–आमाले हिजो रङ्ग न ढङ्ग भएकी छोरीलाई इन्द्रेणी देख्नुभएछ । अल्लारे छोरालाई परिपक्क भएको देख्नुभएछ । अब त उहाँहरुलाई हाम्रो भरोसा छ रे ।

यो समयमा हामी छुट्दा, ढल्दा र लड्दा समाउने, उठाउने र बाटो देखाउने सम्पुर्ण विद्यार्थी, विद्यालय परिवार, समुदाय र टीच फर नेपाल परिवार प्रति कृतज्ञ छौं ।

दुई वर्ष हाम्रा आफ्नै घर र परिवार बनेका गाउँहरु, मुस्कानहरु, सिस्नु, ढिंडो, तरुवा बहुत मिस गर्नेछौं ।

 

प्रिय सातौं ब्याच का मेधावी मित्रहरु,

सर्वप्रथम शैक्षिक समानता मार्फत माटो छुने र देश परिवर्तन गर्ने अभियानमा स्वागत गर्न पाउँदा हर्ष विभोर भएका छौं । छ बर्षको हाम्रो अनुभव र तपाँइहरुको उर्जाको संयोजनबाट नविनतम प्रयोग र दुरगामी परिणाम आउनेमा हामी विश्वस्त छौं ।

तपाँइहरुलाइ केहि भन्नु छ:

            पूर्ण समधान कुरेर वस्नुभन्दा प्रयोग गर्दै सिक्दै जानुहोला

            परिवर्तन ठूला ठूला कुरा गरेर होइन साना साना कामबाट हुन्छ भन्ने नबिर्सिनुहोला

            हामी सवै मानिस नै हौं । एक्लैले सवै गर्न सकिदैन । सहयोगका हातहरु फैलाउन कन्जुस्याँइ नगर्नुहोला

            आँफूलाइ मायाँ गर्नुहोला । आँफू जस्तो हुनुहुन्छ स्विकार गर्नुहोला र आफ्नो काममा विश्वास गर्नुहोला

 

तपाँईहरुका लागी सहयोगको ढोका सधै खुल्ला छ ।

हाम्रो कोहोर्ट को नाम योद्धा हो । हामी आँफूभित्र र बाहिर सकेजति लड्यौं । यो युद्ध र जिम्मेवारी तपाँईहरुलाइ सुम्पेर जादैछौं, बाँकि युद्ध राम्रोसंग लड्नुहोला । तपाँईहरुका सफलताका कथा हेर्न, सुन्न र पढ्न आतुर छौं ।

शुभकामना

धन्यवाद ।

 

 

 

 

 

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links