एक मेयरको शिक्षा सपना

Sept. 1, 2017

   

काठमान्डौ, १६ भाद्र

अहिले दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पान्डे काठमान्डौमा छन्। आज केही वडाध्यक्ष र कार्यपालिका सदस्यका साथ उनी टिच फर नेपालको कार्यालयमा आए।

पान्डेले तुलसीपुरको शिक्षाबारे आफ्नो सपना सुनाए। उनले आफ्नो उपमहानगरपालिकालाई सर्वोत्कृष्ट र नमुना बनाउन दृढ भएको बताए।

मेयरमा निर्वाचित भएपछि पान्डेले तुलसीपुर उपमहानगरपालिकालाई कस्तो बनाउने भन्ने विषयमा विभिन्न आन्दोलन र अभियानमा सामेल मानिससँग छलफल गरेछन्।

आफ्नो कार्यकालको सपना सुनाउँदै उनी भन्छन्, “हामीले तुलसीपुर उपमहानगरपालिकालाई समृद्ध, हरियाली र स्वच्छ बनाउने संकल्प लिएका छौँ।”

सार्वजनिक शिक्षा सुधार नगरिकन चाहेजस्तो समाज निर्माण गर्न नसकिने भन्दै उनले कूल बजेटको २३ प्रतिशत शिक्षा क्षेत्रको लागि छुट्याएको बताए।

सार्वजनिक शिक्षाको सुधारबारे उनले विद्यालयका प्रधानाध्यापकहरूसँग पनि छलफल गरेछन्।

केही वर्षअगाडि गेस्ट लेक्चररको रूपमा उनी अमेरिकास्थित एल विश्वविद्यालय (Yale University) गएका रहेछन्। एकैपटकमा दुई डिग्री पढ्न पाउने त्यो विश्वविद्यालयको व्यवस्थाले उनलाई प्रभावित गरेको रहेछ।

उच्च शिक्षाबारे आफ्नो सपना सुनाउँदै उनी भन्छन्, “भविष्यमा हामीले बहुआयामिक डिग्री दिने मेट्रो विश्वविद्यालय र मेट्रो कलेजको सोच राखेका छौँ।”

जनसाधारणको जीवनसँग जोडिएको शिक्षाको आवश्यकता महसुस गर्दै पान्डे सुनाउँछन्, “आर्किटेक्टहरूले घरको डिजाइन त गर्छन् तर मानिसहरूले अन्तिममा वास्तुशास्त्रीको पनि सल्लाह लिन्छन्।”

त्यसैले उनले दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई प्रस्ताव गरेछन् – आर्किटेक्चर र वास्तुशास्त्र मिसिएको कोर्स बनाउने। यसबाट नेपाल संस्कृत विश्वविद्यालय पुनर्जीवित हुने उनी बताउँछन्।

उनको अर्को सोच छ- गुरुकुल शिक्षालाई आजको शिक्षासँग जोड्ने। पुरातन शिक्षाका नैतिक मूल्यहरू आजको शिक्षामा भित्र्याउने।

विद्यालय शिक्षा सुधारको लागि उनको केही सोच यस्तो छ – विद्यालय सुधारको लागि दीर्घकालिन र आवधिक योजना बनाउने, आर्थिक विपन्नताले छोराछोरी विद्यालय पठाउन नसकेका अभिभावकको लागि आर्थिक उपार्जनको व्यवस्था गर्ने, विद्यालय व्यवस्थापनलाई सुदृढ बनाउने, शिक्षकहरूको लागि पुरस्कार र दन्डको व्यवस्था गर्ने, सहभागितामुलक अनुगमनको प्रणाली स्थापित गर्ने।

“सडक त ढीलो चाँडो बन्छ तर मानिसको सर्वाङ्गीण विकासको लागि शिक्षाको सुधारमा हतार गर्नु आवश्यक छ”, उनी नेपालको सार्वजनिक शिक्षामा आगामि ५ वर्षमा अर्थपूर्ण परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्दछन्।

२०५० सालमा आफैँले पनि शिक्षकको रूपमा काम गरेका पान्डे भन्छन्, “आज सार्वजनिक विद्यालयमा ड्रप आउटको दर एकदमै उच्च छ। विभिन्न कारणहरूले विद्यार्थीहरूले विद्यालय छाड्छन्। ड्रप आउट भएकाहरू कुलतमा फस्छन्, अत्यन्त न्यून पैसामा काम गर्न कतार-मलेसिया जान्छन्। समाजमा विकृति र वेथिति पनि बढ्छ। त्यसैले ड्रप आउट रोक्न विद्यालयमा बालमैत्री वातावरण आवश्यक छ।”

अन्तर्कियाको अन्त्यमा उनी भन्छन्, “अचेल बच्चा रोएर स्कुल जान्छ तर हाँसेर घर फर्कन्छ।अब बच्चा हाँसेर स्कुल जाने वातावरण पनि बन्नुपर्छ”

– विजयमणि पौडेल

                                                     

  Bijaya Mani Poudel is one of the 28 Fellows from the first cohort. He taught at Shree Chandeshwari Secondary School, Lalitpur. Prior to joining Teach For Nepal Fellowship, he completed his Master's in Mass Communication and Economics. He is currently working as Training and Support Manager at Teach For Nepal.

 

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links