हाइड्रोपावरदेखि कक्षाकोठासम्म

Aug. 24, 2017

कक्षाकोठाको पहिलो पाइला

२०७० सालको वैशाख १३ गते। गाडी सातदोबाटोबाट छम्पीतिर हुइँकिन थाल्यो। टाहाखेल अगाडिको चिसो बतासले छुँदै गर्दा प्रविन राज निरौला मीठो स्वैरकल्पनामा थिए। उनी जिन्दगीको नयाँ बाटोमा हिँड्दै थिए। प्रेम, करूणा र स्वच्छताले भरिएका बालबालिकासँग काम गर्न जाँदै थिए। उनीहरूबाट सिक्दै उनीहरूलाई सिकाउन जाँदै थिए।

“मेरो आत्माले सास पाएको जस्तो लाग्दै थियो”, प्रविन त्यो दिन सम्झिँदै नोस्टाल्जिक हुन्छन्। टीकाभैरव मन्दिर र नल्लु खोलाको छेउ। आफ्ना सहकर्मीहरूका साथ उनी अनेकन् जिज्ञासा र रोमान्चकताका साथ आफूले २ वर्ष काम गर्ने विद्यालयमा पसे। विद्यालयका शिक्षकहरूले उनीहरूको स्वागत गरे। बाहिर पानी पर्दै थियो। पानी परेको आवाजसँगै उनी विद्यालय परिसरमा केही बालबालिकाहरूको आवाज सुन्दै थिए।

भोलिपल्ट उनी पहिलो चोटि कक्षा ९ मा पसे। कक्षामा पाइलाहरू सार्दै गर्दा बालबालिकाको अनुहारमा देखिएको उत्सुकता उनी अझै सम्झन्छन्।

कक्षामा उनले आफ्नो परिचय दिए। विद्यार्थीहरूले पनि परिचय दिए। हरेक विद्यार्थीले दिएको परिचय उनले रेकर्ड गरे।

बेलुका आफू बस्ने घरमा गएर भिज्युअल रेकर्ड हेर्दै नाम याद गर्न थाले। लगभग १ हप्तामा उनले आफ्ना सबै विद्यार्थीहरूको नाम कन्ठ गरे।

यसरी उनको २ वर्षे यात्रा सुरू भयो। उनी टिच फर नेपाल शैक्षिक अभियानको पहिलो समूहका एक फेलो हुन्।

श्री बुद्ध माध्यमिक विद्यालयका आफ्ना विद्यार्थीहरूसँग प्रविन। तेस्रो लहर, बायाँबाट पहिलो।
   

 

इन्जिनियरिङको अनुभव

परिवारका माइला सन्तान प्रविन ओखलढुंगामा जन्मिए। उनी १ वर्षको नहुँदै उनको परिवार सुनसरीमा बसाइँ सर्यो। सुनसरीबाट फेरि २०४४ सालतिर उनीहरू काठमान्डौ आए।

त्यसपछि काठमान्डौमा नै पढेका प्रविनले २०६२ सालमा  पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनयरिङमा स्नातक सके। पढाइ सकेपछि उनले सोलुखुम्बु र सिन्धुपाल्चोकमा काम गर्न सुरु गरे। यी दुई जिल्लामा ६ महिना बसेपछि नेपाल सरकार र युएनडीपी को संयुक्त परियोजना ग्रामीण ऊर्जा विकास कार्यक्रम अन्तर्गत प्राविधिक अधिकृतको रूपमा म्याग्दी पुगे। बेनी छेउका ४ गाउँमा बत्ती बाल्नु उनको जिम्मेवारी थियो।

उनी म्याग्दी पुग्दा देश इतिहासको अनौठो र रोमान्चक मोडमा थियो। संविधानसभाको चुनाव हुनै लागेको थियो। बन्दुकको नालबाट सत्ता जन्मिन्छ भन्ने माओवादीहरू जनतासँग भोट माग्दै थिए।

म्याग्दी पुगेको पहिलो दिन सम्झिँदै उनी भन्छन्, “त्यो मेरो जीवनको पहिलो स्वतन्त्रता थियो। मलाई आफू खुल्ला आकाशमा उडेको चराझैँ लागेको थियो।”

म्याग्दीको प्रकृतिमा उनी रमाए। तर, त्यहाँको जनजीवन देखेर उनी आत्तिए। बाल्यकालदेखि उनको मनमा खेल्ने अनेकन् प्रश्नहरूले उनलाई छाडेनन्। विशेषतः आर्थिक रूपले विपन्न मानिसहरू र महिलाहरूको सामाजिक हैसियत देखेर उनी दुःखी भए।

“बिहान ४ बजे उठ्ने महिला। दिनभरि भान्सा र मेलापातमा काम गर्ने महिला। गोठको गोबर सोहोर्ने महिला। गाईवस्तु स्याहार्ने महिला। अनि भाडाँ माझेर र लोग्नेको सेवा गरेर राति ९-१० नबजी सुत्न नपाउने महिला। किन यस्तो हुन्छ?”, आक्रोशित हुँदै त्यो समय मनमा खेल्ने प्रश्नहरू उनी सम्झिन्छन्।

 

बेनी बजारमा त्यो दिन

एलएसलीको ४ दिनअगाडि। बेनी बजारको पुर्वी डाँडोमा घामले चिहाउँदै गर्दा १५-१६ वर्षका दुई भाइहरू उनीसँग नजानेको पाठहरू सिक्न आए। उनीहरूको घर बेनीकै छिमेकी गाउँमा थियो। एसएलसीको परीक्षा दिन उनीहरू आफन्तको घरमा बसेका थिए।

“कुन विषय गाह्रो लाग्छ?”, प्रविनले ती भाइहरूलाई सोधे।

भाइहरूले मसिनो आवाजमा जवाफ दिए, “विज्ञान र गणित।”

त्यसपछि प्रविनले विज्ञानबारे सिकाउन खोज्दा उनीहरूले एकदमै साधारण अवधारणा पनि नआउने बताए। कक्षा १० मा पढ्ने भाइहरूलाई कक्षा ६ र ७ मा पढ्नु पर्ने आधारभूत कुरा पनि नआएको देखेर प्रविन छक्क परे।

“त्यो क्षण म झल्यास्स भएँ। सार्वजनिक शिक्षाको अर्कै पाटो देखेँ।” त्यो दिन सम्झँदै प्रविन भन्छन्, “राज्य व्यवस्थासँग साह्रै चित्त दुख्यो।”

बत्ती बाल्ने अभियानमा म्यादीका गाउँहरू डुल्दै गर्दा प्रविनले सार्वजनिक विद्यालयका बालबालिकामाथि भएको अन्याय र विभेद नजिकबाट हेर्ने मौका पाए।

ओशोलाई उद्घृद गर्दै उनी भन्छन्, “बालबालिकाहरू त परमात्माको सबैभन्दा नजिक हुन्छन्। तर हामी तिनै बच्चालाई सूचना घोकेन भनेर पिट्छौँ। गाली गर्छौँ। तथानाम भन्छौँ। उनीहरूको आत्मा मार्छौँ।”

“निजी विद्यालयले त विद्यार्थीलाई रटाएरै भए पनि पास गर्छ। सार्वजनिक विद्यालयको त त्यो पनि छैन।”

माओवादीको सशस्त्र संघर्षको बेला गोलीले छिया छिया भएको बिजुलीको पोल हेर्दै प्रविनले आफूलाई प्रश्न गरे, “गल्ती कसको?”

सुरुमा अरू मानिसझैँ उनले पनि गल्ती देखे – सरकारको, शिक्षकको, सामाजिक व्यवस्थाको, नेतृत्व गर्ने मानिसहरूको।

हरेक वर्षको एसएलसी रिजल्ट उनी पत्रिकामा हेर्थे। बर्षेनी ओरालो लागेको रिजल्टले उनको मन भतभत पोल्थ्यो। पढ्न नसकेर खाडी मुलुक पुगेका नेपाली युवायुवतीले बिताउनु परेको नारकीय जीवन देखेर उनी छटपटिन्थे।

चियापसलमा बस्दै सरकार, शिक्षक र नेतालाई गाली गर्दै गर्दा एक दिन उनले दोषको भागी आफू पनि भएको पाए, “आफ्नो आँगन र बाटो फोहोर राखेर सरकारलाई गाली गर्ने हामी सबै दोषी हौँ। आफूले पाएको शिक्षा अरूलाई नबाँड्ने हामी सबै अपराधी हौँ।”

त्यसपछि प्रविनको सोच मोडियो। कक्षाकोठामा परिवर्तन नआएसम्म र कक्षाकोठामा बालबालिकाले नैतिकता नसिकेसम्म समाज परिवर्तन नहुने कुरा महसुस गर्दै उनले आफू शिक्षा क्षेत्रमा लाग्ने अठोट गरे।

 

टिच फर नेपालको यात्रा

२०६९ साल। केही जुझारू युवाहरूको समूहले टिच फर नेपाल अभियानको सुरुवात गर्यो। राजनीतिक निराशाबाट व्यग्र तत्कालीन समयमा यो सारै नै सराहनीय पहल थियो। अमेरिकाबाट फर्किएका शिशिर खनाल र स्वस्तिका श्रेष्ठले यो अभियानको स्थापना र नेतृत्व गरेका थिए। सार्वजनिक विद्यालयका बालबालिकाले गुणस्तरीय शिक्षा नपाउनु भाग्यको खेल होइन अन्याय र विभेद हो भन्ने नारा लाउँदै उनीहरूले अब्बल नेपाली युवालाई अभियानमा सामेल हुन आह्वान गरेका थिए।

उनीहरूले समाज परिवर्तनप्रति दृढ अठोट भएका, विद्यालय र क्याम्पसमा अध्ययनरत हुँदा विभिन्न क्षेत्रको नेतृत्व गरेका र उत्कृष्ट शैक्षिक उपलब्धि भएका युवाहरूलाई अभियानमा जोडिन अपिल गरेका थिए।

म्याग्दीमा सार्वजनिक शिक्षालाई नजिकबाट नियाल्न पाएका प्रविनलाई टिच फर नेपालको अवधारणा र मिसन चित्त बुझ्यो। यसरी बालबालिकासँग काम गर्ने सोच बनाइरहेको बेला उनी टिच फर नेपालसँग जोडिन पुगे।

छनोट भएपछि ६ हप्ताको तालिम भयो। त्यसपश्चात उनी ललितपुरको टीकाभैरबस्थित बुद्ध माध्यमिक विद्यालयमा गणित पढाउने काममा खटिए।

वि.सं. २०७१ सालको चैत्रमा फेलोसिपको समाप्तिमा टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई पहिलो समूहको प्रतिनिधित्व गर्दै मायाको चिनो हस्तान्तरण गर्दै। बायाँ।
   

 

कक्षाकोठामा एक दिन

आफ्ना विद्यार्थीहरूलाई प्रविन घरिघरि सम्झाउँथे – भित्रैबाट बलियो मानिसले मात्र माफी माग्न र माफी दिन सक्छ। प्रविनले बुझाउँदै गर्दा कति विद्यार्थीहरू उनको कुरामा असहमति देखाउँथे। उनको कक्षामा यसबारे धेरै छलफल हुन्थ्यो।

एक दिन उनी कक्षा १० मा हिसाब सिकाउँदै थिए। अधिकांश विद्यार्थीहरू हिसाब सिक्न व्यस्त हुँदा २ विद्यार्थीहरू खासखुस गर्न थाले। ती विद्यार्थीहरूको हल्लाले कक्षाको ध्यान अर्कैतिर मोडियो।

हल्ला बढ्दै गएपछि उनले ती भाइहरूलाई नम्र भएर सोधे, “मैले के सिकाएँ? भन त।”

“थाहा छैन”, उनीहरू रिसाएझैँ बोले।

“किन थाहा नभएको?”, प्रविनले फेरि प्रश्न गरे।

दुवै भाइले झर्किएर जवाफ दिए, “थाहा छैन।”

ती भाइहरू रिसाएको थाहा पाएपछि प्रविनले माफी मागे, “मैले रिसाउने बनाएँ। माफ गरिदेऊ है।”

त्यसपछि उनीहरू केही बोलेनन्।

भोलिपल्ट विद्यालय परिसरमा उनी हिँड्दै थिए। ती भाइहरूले उनलाई बोलाए। उनीहरू एउटा कुनामा गए।

प्रविन उत्सुक थिए। अनायाश ती भाइहरूले उनी अगाडि कान समाते र ‘सरी’ भने।

त्यो पल सम्झिँदै उनी भावुक हुन्छन्, “मेरो आँखा टिलपिल टिलपिल भयो।”

कक्षाकोठामा प्रविन।
   

 

‘माटो छोएर हेरौँ”

करिब ८ वर्ष सिभिल इन्जिनियरको रूपमा र २ वर्ष टिच फर नेपालका फेलोको रूपमा काम गरेका प्रविन भन्छन्, “हामी इन्जिनियरहरूले बाटो र पुल बनायौँ। बत्ती बाल्यौँ। सडकले शिक्षा लानु पर्ने थियो तर गाउँमा सडक आएपछि बियर, कोक र फेन्टा मात्र पुग्यो। गाउँमा बत्ती बलेपछि बालबालिकाले पढ्न पाउनु पर्ने थियो तर त्यही बत्तीको मुनि जुवा र तास मात्र खेलियो।”

“भौतिक विकाससँगै हामीलाई नैतिक र चारित्रिक विकास चाहिएको छ। त्यसको लागि परिवर्तन कक्षाकोठाबाट सुरु हुनुपर्छ। त्यो काम शिक्षकले गर्नसक्छ।”

शिक्षकको भूमिका व्याख्या गर्दै प्रविन भन्छन्, “ टुप्पोमा बसेर जतिसुकै ठूला कुरा गरेर मात्र केही हुँदैन। परिवर्तन जराबाट सुरु गर्नुपर्छ। परिवर्तन माटो छोएर सुरु गर्नुपर्छ।”

वि.सं. २०७१ सालको चैत्रमा फेलोसिपको २ बर्षको समाप्तिमा सहकर्मीहरूका साथ प्रविन। दोस्रो लहर, बायाँबाट छैटौँ, फिक्का नीलो कलरको टिसर्ट।
   

लेखक टिच फर नेपालको पहिलो समूह (सन् २०१३) का फेलो हुन्। उनले २ वर्ष ललितपुरको श्री चन्डेश्वरी माध्यमिक विद्यालयमा काम गरे। हाल उनी टिच फर नेपालमा तालिम तथा सहयोग विभागमा छन्।

  Bijaya Mani Poudel is one of the 28 Fellows from the first cohort. He taught at Shree Chandeshwari Secondary School, Lalitpur. Prior to joining Teach For Nepal Fellowship, he completed his Master's in Mass Communication and Economics. He is currently working as Training and Support Manager at Teach For Nepal.

 

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links