आत्मविश्वासको यात्रा - एकादेशको कथा

Aug. 16, 2017

   

वि.स. २०७३ को वैशाखमा टिच फर नेपालको फेलोको रूपमा सिम्ले पुगेँ। ललितपुरको यो गाउँबारे सुनेको थिएँ तर आफैँले अनुभव गर्दा फरक अनुभूति भयो।

जब विद्यालयमा पुगेँ, विद्यार्थीहरू निकै अप्ठ्यारो मानी लजाइ लजाइ बाेले। छात्र र छात्राहरू दुबै लजाए।  विद्यार्थीहरूको मातृभाषा नेपाली नभएको तर पाठ्यक्रम र पाठ्यवस्तु नेपालीमा भएको कारण विद्यार्थीहरूको लागि भाषाको ठूलो चुनौति थियो। गाउँ पुरै एकल जातीय भएकाले यहाँ भाषाको साटासाट नभएको गाँउका मानिसहरूले बताए।

स्कुलमा काम गर्ने क्रममा मैले विद्यार्तीहरू अतिरिक्त क्रियाकलाप तिर इच्छुक  र सक्रिय भएको पाएँ।  उनीहरू खासगरी साहित्य, संगित, नाटक भनेपछि हुरुक्कै हुन्थे। विद्यार्थीको रूचिलाई सिकाइसँग जोड्न र उनीहरूको आत्मविश्वास बढाउन  हामीले स्थानीय शिक्षककै संयोजकत्वमा साहित्यिक समूह खोल्यौँ। समूहको सहजीकरण शिक्षकले गरे पनि विभिन्न कार्यक्रमहरूको योजना र सन्चालनमा विद्यार्थीहरूको सक्रिय सहभागिता भयो। हामीले दशैँमा एउटा सन्देश र रमाइलो मिसिएको नाटक देखायौँ।

विभिन्न साहित्यिक गतिविधि र अन्य नाटकहरूको प्रदर्शनले मैले विद्यार्थीको आत्मविश्वास बढेको पाएँ। आत्मविश्वाससँगै साथीहरूसँगको सहकार्य र  बोल्ने क्षमता बढेको पाएँ। नाटकमा विद्यार्थीहरू रमाए। कक्षामा उनीहरूको सहभागिता पनि बढ्न थाल्यो। आफ्नै समुदायमा प्रदर्शन गरेको नाटकले त विद्यार्थीहरूको सीप, क्षमता, आत्मविश्वास र सहभागिता मा अर्थपूर्ण परिवर्तन ल्याउँदो रहेछ भने यसलाई बाहिरको दर्शकको अगाडि गर्न सकियो भने उनीहरूमा आमूल परिवर्तन आउन सक्छ भन्ने बुझाइबाट हामीले काठमान्डौमा नाटक प्रदर्शन गर्ने निर्णय गर्यौँ।

नाटकको निर्माणमा सम्पूर्ण विद्यालय परिवार र समुदायको पनि सक्रिय सहभागिता रह्यो। झन्डै ३ हप्ताको तयारीपछि यही साउन ४ गते हामीले काठमान्डौको शिल्पी नाटकघरमा नाटक देखायौँ।  उक्त नाटकले धेरैको मन छोयो।

नाटकको प्रदर्शन त एउटा महत्वपूर्ण पाटो थियो नै, अझ बढी नाटकको निर्माण प्रक्रिया विद्यार्थीहरूको सिकाइको लागि अर्थपूर्ण भयो। शिल्पी नाटकघरका अनिल सुब्बाबाट नाटकको निर्देशन भयो।

निर्देशकको सहजीकरणअनुसार विद्यार्थीहरूले नाटकको कथा आफैँ खोजे। साथीहरूसँग छलफल गरे, गाउँ घुमे। गाउँमा घटनाहरू गहन तरिकाले हेरे। अनि आफैँ पटकथा बनाए। संवादहरू आफैँ बनाए। आफैँले पात्रका कपडा खोजे। हाउभाउ खोजे। पात्रहरूको भाषालाई नेपाली भाषामा अनुवाद गरे। अभिनयसँगै आफ्नो प्रस्तुतिको आफैँले विश्लेषण गर्दै गए।

यो प्रक्रियाले विद्यार्थीको व्यक्तित्वको निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ। झन् कलाकारिता कै सपना भएका विद्यार्थीलाई त आफ्नो भविष्यको गोरेको बारे स्पष्टता भयो।

के भन्छन् नाटकमा सहभागी विद्यार्थीहरू?

`मलाई सबैले लजाउने केटा भनेर जिस्क्याउँथे। नाटकले गर्दा मेराे लाज भागेकाे छ। अब त म जे पनि काम नलजाइकन गर्न सक्छु जस्तो लाग्छ।´
– लाप्साङ ब्लाेन, कक्षा ७

`नाटक गर्दा खेरी ठूलो  अावाजले नलजाइकन बाेल्नु पर्ने रहेछ। नाटक खेले पछि अरु नाटकहरू देखाउन पाए हुन्थ्याे लागिरहेको छ।´
– शान्ति घलान, कक्षा ८

`अनुशासन भन्ने कुरा कक्षाकाेठामा मात्र नभइ नाटक खेल्दा पनि लागू हुने रहेछ। कला पनि अनुशासित ढंगले देखाउनु पर्ने रहेछ।´
– नाेर्साङ जिम्बा, कक्षा १०

`जे काम गर्दा पनि टिममा काम गर्नु पर्ने रहेछ। एउटाकाे सामान्य कमजोरीले पुरै नाटक बिग्रिन पनि सक्ने रहेछ।´
– मदन स्याङतान, कक्षा ९

`भविष्यमा म यहि क्षेत्रमा लाग्ने हुनाले मलाई धेरै कुरा जान्न मद्दत गर्याे।राष्ट्रिय स्तरकाे कलाकार अनिल सरबाट नाटक सिक्न पाएँ।सम्बन्ध पनि बन्याे।नाटक देखाएर यति धेरै रकम उठाउन सकिन्छ भनेर हामीले साेचेकै थिएनौं। राम्रो नाटक देखाउन सक्याे भने पनि पैसा कमाउन सकिने रहेछ।´
– प्रकाश थिङ, कक्षा १०

`अाफ्नाे समस्या अरुकाे सामु सुनाउन अप्ठ्यारो लाग्थ्याे।अब म सजिलैसँग सुनाउन सक्छु। नाटकले बाेल्न सक्ने मनाेबल बढाएको छ।´
– निङ्मा ब्लाेन, कक्षा १०

के भन्छन् प्रधानाध्यापक र शिक्षकहरू?

“हामीले एेतिहासिक काम गर्याैं।नाटकले विद्यार्थीकाे विभिन्न बाेल्ने,साेच्ने,गाउने,नाँच्ने तथा अाफ्नाे गाउँ ठाउँकाे वस्तुस्थिति बुझ्ने सिपकाे विकास भएको छ।दक्षिण ललितपुरले भाेग्दै अाएकाे वास्तविकतालाई विद्यार्थीहरुले कला मार्फत परिवारिक,सामुदायिक तथा विद्यालयका समस्याहरू भन्न सफल भए।”
– दूधराज जिम्बा, प्रधानाध्यापक

“राजधानीककाे नाकैमुनी रहेको याे ठाउँका मान्छेहरुले सदियाैँ देखि भाेगिरहनु परेकाे पिडालाई विद्यार्थीहरुले कला मार्फत देखाउन सक्षम भएको हुँदा मलाई निकै हर्षित तुल्याएकाे छ।याे सिम्लेकाे मात्रै हाेइन नेपालै भरिकाे कथा हाे।”
– मनाेज कुमार श्रेष्ठ, शिक्षक

“नाटककाे कारण दाजुभाइ दिदी बहिनीमा खुसी छाएको छ। विद्यार्थीहरु अाफ्नाे कुरालाई खुलेर भन्न सक्ने भएका छन्।विद्यालयलाई अार्थिक सहयाेग जुटेको छ। सिम्लेकाे सामाजिक पहिचानलाई माथि उठाउन थप बल प्रदान भएको छ।”
– थुप्देन पाल्साङ जिम्बा, शिक्षक

के भन्छन् अभिभावकहरू?

`अागामी दिनमा यस्ता जुनसुकै काम गर्न हामी सबै एक भएर लाग्ने छाैँ। मिलेर ।सबै एक भएर लाग्ने हाे भने जुनसुकै काम पनि सफल हुनेरहेछ।´
– सानुकान्छा जिम्बा, अध्यक्ष, विद्यालय व्यवस्थापन समिति

“हाम्रा दुख्ख कसलाई भनाैँ, कहाँ भनाै भइरहेको थियाे। विद्यार्थीहरुले सबै सामु सुनाइदिए।हाम्रो मन हल्का भएको छ।धेरै खुसी लागेकाे छ।”
– शुष्मा जिम्बा, अभिभावक

“अहिले सबैको प्रयासले ,यही गाउँमा बाेल्न नसक्ने बच्चाहरुले काठमाडौं गएर सबै सामु पुगर अाफ्नाे कथा सुनाए।धेरै धेरै खुसी छाएको छ हामी सबैमा।”
– मंगलसिहं ब्लाेन, अभिभावक

विश्व प्रशिद्ध दार्शनिक तथा चिन्तक साेक्रेट भन्छन्,

`संसारलाई गतिशील बनाउनु छ भने सुरुमा अाफु गतिशील हुनुपर्छ।´

साझा लक्ष्य तथा सपना बाेकेर विद्यार्थी ,समुदाय तथा शिक्षकहरु सबै अा-अाफ्नाे ठाउँबाट सहकार्य गर्दै गतिशील भएको नतिजा हाे २०७४ साल साउन ४ मा शिल्पी नाटकघरमा मन्चन भएको नाटक `एकादेशकाे कथा´।

 

   

कोपिला - सिम्लेका कथा

मानव अावाज - सिम्लेको कथा शिल्पी नट्यघरमा

सैलुङअनलाइन - `एकादेशको कथा´ मन्चन

 

  Ratan Darshan Devkota is one of the 40 Fellows who is in his second year as a Teach For Nepal Fellowship. He is currently teaching in Chandeshwari Secondary School, Simle, Pyutar-4, Lalitpur. Prior to joining Teach For Nepal Fellowship, he completed his Bachelor's in Arts (Social Science and Mathematics), from Khwopa College, Tribhuvan University, Nepal. You can sponsor Ratan or Fellows like him by donating to Teach For Nepal

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links