टाेल टाेलमा सिकाइ 

June 1, 2017

– रतन प्रसाद देवकोटा ​

टाेल टाेलमा सिकाइ

धेरै जसाे विद्यार्थीहरूले घरमा पढ्ने उपयुक्त वातावरण पाउँदैनन्। विद्यार्थीहरूको सिकाइलाई दिगो बनाउन हामीले  नयाँ अभियानको सुरुवात गर्यौँ। हामी कक्षाकोठाबाहिर निस्कियौँ। निरन्तर अभिभावकहरूसँगको संवादसँगै हामीले विद्यार्थीहरूले घरमा हुँदा पनि सिकुन् भन्ने उद्देश्यले 'टोलटोलमा सिकाइ' अभियान सुरु गर्यौँ। 

सिम्ले गाउँ जम्मा ५ अाेटा टाेलहरू मिलेर बनेकाे छ।प्रत्येक टाेलबाट सानाेदेखि ठूलो कक्षामा पढ्ने विद्यार्थीहरु स्कुलमा अाउँछन्।

टोलटोलमा सिकाइ अभियानअन्तर्गत विद्यार्थीहरूले सुरुमा टोलसमिति गठन गरे। यस समिति अन्तर्गत विद्यार्थीहरूले नै टोल प्रमुख, उपप्रमुख र सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरे। सल्लाह सुझाव र हौसलाको लागि विद्यार्थीहरूले प्रत्येक टोलमा ४ जना अभिभावकलाई सल्लाहकार समितिमा राखेका छन्।

टोल समितिले आफ्ना कार्यक्रमहरू राखेर मासिक क्यालेन्डर पनि तयार पारेको छ। 

   

सिकाइको एक झलक

जेठको दोस्रो साता तल्लो सिम्लेमा चेतना मुलक फिल्म देखाउने कार्यक्रम थियो। तल्लो सिम्ले हामीले काम गर्ने स्कुलबाट ३० मिनेटको दूरीमा छ। शुक्रबार साँझ हामी अाेरालाे लाग्यौं ।

चिसो बतास, झरी र आकाशको गड्याङगुडुङलाई छिचोल्दै हामी गाउँ पुग्यौँ। यस टोलकी प्रमुख कक्षा १० की छात्रा बुद्धिमाया ब्लाेन र उपप्रमुख कक्षा ९ का छात्र निर्माण ब्लोन हुन्। यहाँको समितिले टाेलकाे लागि नियम,बचत काेष, संकेत, गित, नारा तथा क्यालेन्डर पनि निर्माण गरेका छन्।  विद्यार्थीहरूले आफ्नो टोलको नाम 'इमानदारी टोल' र संकेत डम्फु  राखेका छन्। डम्फु तामाङ जातिको एउटा महत्वपूर्ण बाजा हो। त्यस्तै 'आफ्नो टोल आफैँ बनाऔँ' भन्ने नारा राखेका छन्। 

फिल्म देखाउनु अघि हामीले खाना खायौँ। त्यसपछि स्थानीय शिक्षक मदन लामाकाे घरमा टाेलका सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरु जम्मा हुनु भयाे।

फिल्म सुरु गर्नु अघि विद्यार्थीहरूले कार्यक्रम र टाेल समितिबारे सामान्य परिचय दिए। टाेलकाे गित गाए।आ-अाफ्नाे प्रतिभा देखाए।

स्कुलमा सहभागिता कम भएका विद्यार्थीहरू पनि कार्यक्रममा निकै सक्रिय थिए। कसैले गित गाए। कसैले कविता वाचन गरे। विद्यार्थीकाे प्रतिभा र अात्मविश्वास देखेर मेरो मनभित्र अच्चम्म र खुसीकाे भाव एकैसाथ संचार भयो।अभिभावक पनि खुसीले गदगद देखिन्थे।सामान्य कार्यक्रम सकिएपछि फिल्म सुरु भयो।

हामीले नेपाली फिल्म `दक्षिणा´ देखाउने निर्णय गरेका थियौँ। तर प्राविधिक त्रुटिवश `टलकजंग भर्सेस् टुल्के´  देखायाैँ। कार्यक्रम अवधिभर विद्यार्थीकाे नेतृत्व र प्रयास देख्दा मन खुसिले ढक्क फुल्याे।

विहान ६ बजे अगाडि नै विद्यार्थी उठिसकेछन्।लगत्तै टहरामा सम्पूर्ण विद्यार्थी जम्मा भए। हामी पनि गयौं। विद्यार्थीलाई तीन समुहमा विभाजन गर्याैँ।

त्यसपछि हामीले अंग्रेजी, गणित र विज्ञान सिकाउन थाल्यौँ। स्कुलमा भन्दा सहजै उनीहरूले पाठ बुझे। भोलि कक्षामा पढ्ने पाठ पनि मैले पढाएँ। 

`भोलि अाफ्नाे कक्षामा तिमीहरू आफैँले पढाउनु पर्छ है।"

मेरो कुरा सुनेर उनीहरू खुसी भए। भोलि सबैलाई सिकाउनु पर्ने भएकोले उनीहरूले झनै महत्त्वका साथ ध्यान दिएर सिक्न खाेजे।

   

अाइतबारको दिन । बिहान ९बजे।

कक्षा १० मा प्रवेश गरें। विद्यार्थीहरु लगभग कक्षामा अाइपुगेका थिए।भुमिका तालिका बमोजिम विद्यार्थीहरूले आ-आफ्ना काम गरे। त्यसपछि तल्लो सिम्लेमा भएको गतिविधि टोलप्रमुखले सुनाइन्। उनले 'टिचर अफ दि टोल' नाम पाइन्। 

हिजो सिकेको पाठ उनले अाफ्नै भाषामा पढाइन्।अरु विद्यार्थीले पनि नबुझेकाे बिचबिचमा साेधे।विद्यार्थीहरु `ए! ए! गाेजि गाेजि।सर्लक्क गाेजि(बुझें)।´ भन्दै खुसिले दंग थिए।

म भने उनको अात्मविश्वास देखेर दंगै थिएँ। कक्षाकार्य तथा गृहकार्य र यसकाे परीक्षणको जिम्मा उनैले लिइन्।

अहिले कसैलाई समस्या पर्याे भने पहिला टाेल शिक्षकलाई साेध्ने र टाेल शिक्षकलाई पनि समस्या खड्कियाे भने हामी शिक्षकले सिकाइ दिने वातावरण स्कुलमा निर्माण भएको छ।

`इमानदारी टाेल´ की सदस्य कक्षा ३ कि छात्रा अनिशा ब्लाेनले विहानी सभामा अगाडि अाएर `राति फूल्ने राति नै झर्ने फूलकाे नाम के हाे?´ भन्दै सबैलाई प्रश्न सोधिन्। बाेल्नै नमान्ने बहिनी अनिशा सबैकाे अगाडि अाउन सकिन्।साेही टाेलका कक्षा ४ मा अध्ययनरत् छात्र पासाङ ब्लाेनले पनि अगाडि अाएर कविता वाचन गरे। यी भाइबहिनीकाे प्रेरणाकाे स्राेत टाेल समिति नै थियो । 

स्कुलमा देखाउने प्रस्तुतिको निर्णय टोलसमितिले अगाडि नै निर्णय गर्छ। 

हाम्रो विश्वास

विभिन्न क्षमताका विद्यार्थीहरूबीच सहकार्य भएन भने सिकाइ उपलब्धि खासै देखिँदैन।विद्यार्थीले साथीबाट छिटो र सजिलोसँग सिक्ने धेरै सम्भावना रहन्छ। यसैका लागि टाेलटाेलमा कुन-कुन दिन के-के गर्ने, कुन समयमा पढ्ने, टाेल शिक्षकले कक्षामा अरूलाई कसरी सहयोग गर्ने, टाेल सरसफाइ कसरी गर्ने लगायतका कामहरु अब संगठित यी टाेल एकाई समितिले गर्ने छन्। यसरी `टाेलटाेलमा सिकाइ,परिवर्तनका लागि एकाई´ले समुदाय,स्कुल र बालबालिका तिनै पक्षलाई जाेड्न सक्छ भन्ने हाम्राे विश्वास हाे।

यो प्रयासबाट हामीलाई लाग्दैछ, टोल टोलमा स्कुल सम्भव छ। यसकाे लागि स्कुलका शिक्षकहरू सहजकर्ताका रुपमा विद्यार्थी सामु उभिदिए पुग्छ। टाेलकाे सम्पूर्ण नेतृत्व विद्यार्थी स्वयम्ले लिन्छन्। टाेल इकाई अवधारणा विद्यार्थीकाे चाैतर्फि विकासको लागि जादुकाे छडि बन्न सक्छ भन्ने हाम्रो विश्वास हाे । टाेल इकाई भनेकाे स्कुल अाउनकाे लागि तयारी हुन सिकाउने स्कुल हाे।

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links