एक दिनको डायरी
May 7, 2017
प्युटार, ललितपुर
माघ, २०७०
गोठालयबाट फर्किँदै छु । विहान सात बजेतिर । गोठालय एसएलसी दिने विद्यार्थीहरुको लागि गोठमा खोलिएको होस्टेल हो । एक्लै छु बाटोमा । दायाँ र बायाँ सिस्नोको झ्याङ । (अस्ति मिराज सोध्दै थियो, सिस्नोमा पाइने मिथानोइक एसिडबाट बिद्युत निकाल्न सकिँदैन सर ? मैले विद्युत टेस्ट गर्न ग्याल्भानोमिटर दिएको थिएँ ।)
अनायाश म कुनै आवाज सुन्छु । मसिनो आवाज । कसैको क्रन्दनजस्तो । वरिपरि हेर्छु । केही देख्दिनँ । त्यो आवाजलाई वास्ता नगरी हिँड्न खोज्छु । तर पाइला चाल्न सक्दिनँ ।(म गाउँमा छु । यहाँ एउटाको पीडाले अर्कोलाई पनि पोल्छ ।)
मेरो आँखाले दाहिनेपट्टिको सिस्नोको झ्याङमा छटपटिरहेको एउटा चरा देख्छ । ऊ छटपट गर्दै छ । हिँड्न सकेको छैन । हरियो रङको चरा । म सिस्नोको पात निगालोको सिट्केनोले पन्छाउँदै त्यो चरालाई हातमा लिन्छु । उसको एउटा खुट्टा भाँचिएको छ । अगिल्लो रात आएको हूरी र पानीले गर्दा होला, ऊ गुँडबाट खसेजस्तो छ ।
ऊ पानीले निथ्रुक्क भिजेको छ । थरथर काम्दै छ । म उसको शरीर सुम्सुम्याउँछु । ऊ मप्रति कुनै प्रतिक्रिया जनाउन सक्दैन । म छेवैको झ्याङबाट तीतेपाती चुँडेर देब्रे हातमा माड्छु । अनि उसको खुट्टामा दलिदिन्छु । ऊ अलिअलि छटपटिन्छ ।
म त्यो चरालाई बोकेर मेरो कोठातिर आउँछु । उसको जीउलाई एउटा सुक्खा पहेँलो टालोले पुस्छु । ऊ काँपिरहेको हुन्छ । अनि खाटमा लम्पसार परेको जस्टिन गार्डरको पुस्तक ‘सोफिज वल्र्ड’ माथि राख्छु उसलाई । बाहिर मानिसहरु गफ गर्दै छन् । पल्लो घरको मेमे र दाइको गफ चल्दै छ । तर मलाई कुनै वास्ता छैन । म विल्कुल अर्को संसारमा छु । मैले एउटा घाइते जीवको उपचार गर्नु छ ।
तर कसरी गर्ने ? म अलमलमा पर्छु । एउटा चिनेको भेटेरीनरी डाक्टरलाई फोन लाउँछु । फोन लाग्दैन। अब फसाद पर्छ । म बच्चा हुँदा आमाले घाइते हाँस र परेवाको उपचार गर्नुभएको सम्झन्छु । अनि एउटा कागजमा बेसार हाल्छु । त्यसमाथि तेल हाल्छु । अनि चराको देब्रे खुट्टामा दलिदिन्छु । ऊ छटपटिन्छ । सायद पोल्यो कि । तर अहिले पोलेर के भो र । उसको खुट्टा ठीक भै हाल्छ नि ।
अनि उसको अगाडि केही चामलको दाना राखिदिन्छु । तर ऊ टिप्दैन । अब ऊ आँखा चिम्लिन थाल्छ । सायद अलिक बिसेक भयो कि ।
म आफू भने चिया पकाएर खान्छु । अनि सानो आवाजमा नारायणगोपालको गीत बजाउँछु : मन्दिरमा छ कि मूर्तिमा माया, पत्थरमा छ कि धूलोमा माया।
आफू भुइँमा बसेर अचम्म मान्दै म त्यो पंक्षीलाई हेर्छु । एउटा चरा, मेरो बिछ्यौनामा बसिरहेछ । निदाइरहेछ । सायद पचास ग्राम पनि छैन उसको जीउ । तर मभित्र एउटा महासागर उर्लिरहेछ । संवेदनाको ।
उसलाई कोठामा छाडेर म बाहिर निस्कन्छु । तरकारी खोज्न । लसुनको पात टिप्छु । बकुल्ला र धनियाँ टिप्छु । पैयुँको बोटमा एउटा चरा कराउँदै छ । मौरीको भुनभुन आवाज सुन्छु । मेरो कोठाको घाइते चरालाई पनि त्यसरी नै छाडिदिने रहर पलाएर आउँछ ।
कोठाभित्र आउँछु । यतिबेला मेरो म्युजिक प्लेयरमा क्रिस्टिना पेरीको ‘A thousand years’गीत बजिरहेछ ।
खाटमा हेर्छु, चरा छटपटिरहेछ । थाहा पाउँछु, उसको अर्को खुट्टा पनि भाँचिएको रहेछ । ऊ अहिले जोडसँग काम्दै छ । ऊ पुरै उत्तानो परेर ढल्छ । म फेरि कागजमा बेसार हाल्छु । अनि त्यसमाथि तेल ।
उसको दाहिने खुट्टामा तेल र बेसार दल्न भनेर आउँछु । मेरो मुटु चिरिन्छ । त्यो चरा मरिसकेछ । जीउ छाम्छु । चीसो छ । खुइया गर्छु । कस्तो कस्तो डर लागेर आउँछ । आँखाबाट आँसु झर्न खोजेजस्तो हुन्छ । त्यो तेल र बेसार उसकै जीउमा दलिदिन्छु । पहेँलो गाता भएको ‘सोफिज वल्र्ड’ माथि पहेँलै टालोमा गुटमुटिएर मरेको छ त्यो चरा । त्यो लाश ।
आफैँलाई प्रश्न गर्छु, मेरै कोठामा आएर किन मर्यो त्यो चरा ? जीवन दिन नसक्ने भए मैले किन त्यो चरालाई आफूसँग ल्याएँ ? बरु उसकै हालतमा छाडेको भए बाँच्थ्यो कि ?
त्यो चरालाई त्यत्तिकै फाल्न मन लाग्दैन । उसलाई असुरोको बोट छेउमा लगेर जलाउँछु ।
मन खिन्न हुन्छ । सहरमा भएको भए एउटा चराको मृत्युले मेरो लागि भुसुने अर्थ पनि राख्दैन थियो होला । सयौँ घाउहरु नांगो आँखाले हेर्दै मौन बस्ने मैले एउटा चरालाई त्यसरी टिपेर ल्याउन्न थिएँ होला । तर यो गाउँमा आज एउटा चराले मलाई रुवाएको छ । यस्तो लाग्छ, मैले कुनै आफन्त गुमाएको छु ।
चराको मृत्युप्रति संवेदनाशून्य हुन खोज्छु । तर सक्दिनँ ।
सवा नौ बजे कोचिङ कक्षामा पुग्छु । ४ जना विद्यार्थीबाहेक सबै छन् । खै किन आएनन् यिनीहरु ? एसएलसी आइसक्यो । छटपटिबीच कक्षा १० लाई बिहानको घटना सुनाउँछु । उनीहरु भावविभोर हुन्छन् । टेलीमायाको आँखामा पानी छचल्किन्छ । पातलीको अनुहार रातो हुन्छ । राहुल भन्छ, “सारै नरमाइलो भयो सर ।” थुप्देन सरले बनाउन लाउनुभएको क्लाइनोमिटर समाउँदै फूलमान भन्छ, “सरले चिन्ता लिनुपर्दैन । त्यो सरको गल्ती होइन ।” चन्द्रबहादुर सम्झाउँछ, “सरले त सहयोग गर्न खोज्नुभएको थियो । उसको दिन आएको थियो, मर्यो ।”
म छक्क पर्छु, आज यी भाइबहिनीहरु मलाई सम्झाउँदै छन् । मेरो मनको पीडा कम गर्न खोज्दै छन् । मेरो अन्तर्मनको अदालतमा हाम्रो सरले कुनै गल्ती गरेको छैन भन्दै बयान दिँदै छन् । साँच्चै मेरा भाइबहिनीहरु ठूला भइसकेछन् । बिस्मातसँगै उब्जिएको खुसीबीच कक्षा सुरु गर्छु, “आज हामी हरित गृह प्रभावबारे फेरि छलफल गर्ने है ।”
पहिलो कक्षा । फाराडे कक्षाको क्लास टिचर म । विद्यार्थीहरु ‘यो मन त मेरो नेपाली हो’ गाएर कक्षाको सुरुवात गर्छन् । म सेतोपाटीको सबैभन्दामाथि आजको नेपाली र अंग्रजी मिति लेख्छु । अनि महात्मा गान्धीको एउटा भनाइ लेख्छु,तिमी शालिन तरिकाले संसार हल्लाउन सक्छौ ।
गान्धीको भनाइमा एकछिन छलफल चलाउँछु । कक्षाको भित्तामा गान्धीको पोरबन्दरको घरको फोटो टाँसिदिएको छु । एकछिन गान्धीका केही रमाइला प्रसंगहरु सुनाउँछु ।
फाराडे कक्षामा आज हामी प्रतिध्वनि र गुन्जायमानबारे कुरा गर्छौँ । कान्लामा लगेर सबैलाई चिच्याउन लाउँछु । पहाडमा ठोक्किएर त्यो आवाज फर्किएर आउँछ । उनीहरु प्रतिध्वनि सुनेर छक्क पर्छन् । उत्तिसको बोटमा अडेस लाग्दै अशोक प्रश्न गर्छ, “अनि सम्म ठाउँमा प्रतिध्वनि किन नसुनिएको नि सर ?”
कक्षाको अन्तिमतिर वर्षको पत्रकार घोषित भएको सुरवीर भन्छ, “आज ‘नाम्सा नाम्सा ’ गाउने नि सर ।”
('नाम्सा नाम्सा' गाउँ गाउँबाट उठ गीतको तामाङ भाषामा गरिएको उल्था हो । हुन त तामाङ भाषामा यो गीत रामेशले पनि गाएको सुनेको थिएँ । तर कक्षा १० का विद्यार्थीको सहयोगमा यो म आफैँले गरेको अनुवाद हो ।) र, उनीहरु नेपाली, तामाङ र मैथिली भाषामा गाउँ गाउँबाट उठ गाउन सुरु गर्छन्,
नाम्सा नाम्सा ग्याम्से रेगो
बस्ती बस्ती ग्याम्से रेगो
चु ह्युलला लि शोवादा रेगो......
चराको सम्झना अलिकति कम हुन्छ । दोस्रो घण्टीमा कक्षा ८ मा जान्छु । साइन्स विषयको लागि यो अक्सिजन कक्षा हो । गोपालप्रसाद रिमालको ‘रातो र चन्द्र सूर्य’ गाएर उनीहरु कक्षाको सुरुवात गर्छन् ।
वर्षको वैज्ञानिक घोषित विषम आफ्नो घरमा गरेर ल्याएको काम देखाउँदै भन्छ, “सर हेर्नुस् त, मेरो सर्किटमा त बत्ती बल्यो ।” उसले थोत्रे स्वीच खोजेछ । एउटा टर्च लाइटको बल्ब निकालेछ । अनि सर्किट बनाएछ । होइसल बोल्छ, “सेलहरुलाई श्रेणीक्रम जडानमा राख्यो भने उज्यालो बढ्दोरैछ सर ।”
हामी कक्षामा विद्युतका विभिन्न प्रयोगहरु गर्छौ । कक्षाको अन्त्यमा म उनीहरुलाई अब्दुल कलामको केही प्रेरणादायी प्रसंगहरु सुनाउँछु ।पहिलो बेन्चमा बसेकी संगितालाई म प्रश्न गर्छु, “यदा लाना समयसम्म बत्ती तोजिविषम् हाजिवा जडान लाला ?”
अब फ्लोरिन कक्षाको पालो । अर्थात् कक्षा ९ । पीँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर । उनीहरु बुद्दिकृष्ण लामिछानेको गीत गाएर कक्षा सुरु गर्छन् । उनीहरुको आवाजले मलाई भावुक बनाउँछ । फेरि त्यो चराको लाशलाई सम्झन्छु म । उनीहरुलाई पनि बिहानको कथा सुनाउँछु । कथा सुनेपछि उनीहरु एकै लयमा ‘ला......’ भन्छन् ।
कक्षा ९ मा हामी डार्विनका क्रमविकासका सिद्दान्तहरुबारे छलफल गर्दै छौँ । आज उनीहरुलाई आफ्नो रुचीअनुसार डार्विनको सिद्दान्तको व्याख्या गर्न दिन्छु । केहीले चित्र बनाउँछन् । केहीले कथा लेख्छन् । केहीले गीत र कविता लेख्छन् । केहीले दोहोरी पनि लेख्छन् ।
‘लालुपाते नुह्यो भुँइतिर’ को भाकामा मिममायाले लेखेको दोहोरी हामी सबैले गाउछौँ :
प्रकृतिले छानेन उसलाई
हराएर गयो है बिलाई
डाइनोसर झर्यो भुइँतिर
कि लाउ माया देउतातिर कि लाउ डार्विनतिर
नि र नलाउ दुईतिर ।
खालि घण्टीमा सल्लोको बोटमा अडेस लाग्दै चिसो हावा खाएर बस्छु । मौसम चिसो छ । तर मलाई चिसो बतासले जिउ भिजाउन मन लाग्छ ।
कक्षा ५ खाली रैछ। जान्छु। मदन भन्छ, “कक्षा ६ मा सुनाउनुभएको बादलपारिको देशको कथा सुनाउनु न सर ।” यशोधरा भन्छे, “कक्षा ७ मा सुनाउनुभएको जस्तो विज्ञानको कथा सुनाउनु न सर ।” बास्नामायाको अर्कै फर्माइस छ, कक्षा ९ मा सुनाएको भगतबहादुरको कथा सुन्ने ।
‘बादलपारिको देश’ नारायण ढकालले लेखेको कथा हो । यो कथा पुरै थाहा छैन मलाई । तर आफैँले बढाएर धारावाहिक रुपमा भनिरहेको छु । बादलपारिको देश एउटा असल राज्यको कल्पना हो । लोककल्याणकारी । म विद्यार्थीहरुलाई उत्प्रेरित गर्न आफैँ बनाएर कथा सुनाउँछु । असल, नैतिकवान र प्रजातान्त्रिक चरित्र निर्माणको लागि । विद्यार्थीहरु सोध्छन्, “कहिले सकिन्छ सर यो कथा ?” म जवाफ दिन्छु, “२ वर्षमा ।” उनीहरु थप्छन्, “तपाईँ बसुन्जेलमा सकेर जानु है सर ।”
विज्ञान कथाचाहिँ स्टेफेन हकिङ र उनकी छोरी लुसी हकिङले लेखेको ‘अ सेक्रेट कि टु युनिभर्स’कथा हो । यसलाई पनि मैले मौलिकिकरण गरेर सुनाउँदै आएको छु । अन्तरीक्षको गुरुत्वहिन कथा सुन्दा विद्यार्थीहरु छक्क पर्छन् । झन् जिरो ग्राभिटीको भिडियो देखाउँदा उनीहरुको आश्चर्यको सीमा हुँदैन ।
भगतबहादुर कथा चाहिँ म आफैँले लेखेको एउटा बालकको संघर्षको कथा हो । मैले लेखेको यो कथाको भाव हिन्दी फिल्म ‘आइ एम कलाम’ सँग ठ्याक्कै मिलेछ ।
अँ, कक्षा ५ मा बादलपारिको देश सुनाउन सुरु गर्छु । उनीहरु मेरो आवाजको तालमा अनुहारको रंग बदल्छन् । मेरो हात र जीउको तालमा आँखा घुमाउँछन् ।
टिफिनको बेला कृष्ण धरावासीको कथा ‘झोला’ बजाइदिन्छु कक्षा ८ मा । रेडियोकर्मी अच्युत घिमिरेको आवाजमा ।
पाचौँ घण्टी फेरि कक्षा १० मा पुग्छु । सुभाषचन्द्र बोसको एउटा प्रेरणादायी प्रसंगबाट कक्षाको सुरुवात गर्छु । अहिले हामी ब्रम्हाण्डबारे रिभिजन गर्छौँ ।
अब न्यूटन कक्षाको पालो । अर्थात् कक्षा ६ । ‘हामी धेरै साना छौँ, हाम्रो मुटु सानो छ’ गाउँदै उनीहरु कक्षाको सुरुवात गर्छन् । आज प्रकाश संश्लेषणबारे सिक्ने पालो छ । म उनीहरुलाई बाहिर पाखामा लान्छु र बिरुवा देखाउँदै बिरुवाले खाना कसरी बनाउँछ भन्दै अनुमान गर्न लाउँछु । उनीहरु आआफ्नो तर्क दिन्छन् । उनीहरुको साझा तर्क हुन्छ, बिरुवाले आफ्नो खाना आफैँ बनाउँछ ।
म सोध्छु, “बिरुवाको खाना बनाउने अँगेनो खै त ?”उनीहरु गलल्ल हाँस्छन् । म स्टोमाटा, जाइलम र फ्लोयमबारे बुझाउँछु ।
कक्षाको अन्त्यमा सबैले आआफ्नो डायरी मलाई देखाउछन् । अमृतको अक्षर हेर्दै भन्छु, “तिम्रो अक्षर त धेरै मोटाएछ । अलिक पातलो बनाउ है ।”
नोर्साङले डीको नतानी लेखेको अक्षर हेर्दै भन्छु,“ अक्षरमाथि डीको तान्नु भनेको घरमा छाना लाएजस्तै हो । होइन भने त अक्षरभित्र पानी पसिहाल्छ नि ।”आफ्नै तालमा हाँस्तै नोर्साङ भन्छ, “सर पनि हँसाउनुहुन्छ ।”
कोचिङ कक्षासमेत आफ्नो आजको ७ वटा कक्षा सकेर थकित हुँदै बाहिर निस्कन्छु । चिसो बतास । चिया खान मन लाग्छ । तर यो मात्र एउटा सपना । सबै सपना कहाँ पूरा हुन्छ र, आफैँलाई सम्झाउँछु ।
कक्षा १० का केही विद्यार्थीलाई बाहिर देख्छु । अर्थशास्त्र पढ्नेहरुको क्लास रैनरैछ । सर हुनुहुन्न रैछ । मेरो मनले मान्दैन । थकान भाग्छ । फेरि उनीहरुलाई कक्षामा लगेर प्राक्टिस गराउँछु ।
यसरी ८ वटा घण्टी पढाएपछि आजको मेरो दिन सकिन्छ । स्टाफ रुममा १५ वर्षकै उमेरमा बिहे भएको एउटी विद्यार्थीको कुरा चल्दै छ ।
कोठा फर्किन्छु । मनमा अनेक कुरा खेल्छन् । ऊ किन भागी होली ? खबर थाहा पाउँछु, ऊ आफैँ भागेकी होइन । विदेशबाट फर्किएको आफ्नै भाउजूको भाइसँग घरबाटै उसलाई पठाइएको हो ।
साँझमा खाना खाएर फेरि गोठालयमा पुग्छु । ज्यामेङले एक मुठो रायोको साग र एउटा लामो उखुको लाँक्रो ल्याएर मलाई दिन्छ । प्रदीपले सेदे (बोझो) ल्याइदिएछ । उनीहरुलाई प्राक्टिस गराउँछु । म्याथ, साइन्स, इंगलिस र सोसल स्टडिजको ।
मैले बिर्सिरहेको चराको फेरि याद आउँछ ।
मध्यरातमा अल्वर्ट क्यामसको ‘फिलोसफिकल सुसाइड’ बारे एक पाना पढेर सुत्छु । गोठमा । तोरीको भुसको छेउमा ।
आज राति पनि एकतमासले पानी परिरहेको छ ।
(लेखक टिच फर नेपालको पहिलो कोहर्ट (सन् २०१३) का प्रज्ञार्थी हुन्। हाल उनी टिच फर नेपालको तालिम तथा सहयोग विभागमा कार्यरत छन्।)
(प्रस्तुत लेख २०७१ साल कार्तिक १ गते सेतोपाटी अनलाइमा प्रकाशित भएको थियो। लिङ्क ः http://setopati.com/sahityapati/18886/)