सबै विद्यार्थी अाउनेछन्

Jan. 19, 2017

- सब्रिना थापा 

शिरी दाइको एउटा आर्टिकल “रमेश लामा बन्ने रे” वैसाखमा स्कूल जानु अघि नै पढिसकेको थिएँ। तर त्यति बेला यो आर्टिकलले त्यति मन छोएको थिएन जति आज छोयो।

शिरी दाइ एक दिन स्कूल आउँदा बिनितालाई मलाई दिनु भनेर विभिन्न प्रेरणादायी व्यक्तिहरुको आर्टिकल दिनु भएको रहेछ। ती आर्टिकल मैले आज मात्र पाएको थिएँ।  यसो हेरे र कुनै दिन फ्री टाईम मा पढेर सुनाउनु पर्ला भन्ने सोचें अनि ब्यागमा राखें।

आज पोखरा टुर पछि स्कूल लागेको पहिलो लागेको दिन, त्यहि भएर होला स्कूल छिर्नेबित्तिकै बच्चाहरुको अनुहार निकै हसिलो देखिन्थ्यो। क्लास ८ मा पढाउन सकेर क्लास १० मा गएँ, तर बच्चाहरुले पढ्न मानेनन्। उनीहरुको मन नभई नभई पढाउन खोज्दा उनीहरुले बुझ्छन् जस्तो पनि लागेन। तर आज मेरो भन्दा पछिको घन्टीको सर स्कूल आउनुभएको थिएन त्यसैले नपढाई छोड्न मन पनि लागेन। गृहकार्य दिन मात्र भए पनि एक दुइओटा प्रश्न सिकाउने र त्यसपछि मात्र टुरको कुरा गर्ने भन्ने शर्त राखे। उनीहरुले नाइँ भनेनन।

दुइटा प्रश्न बुझाइदिएं अनि हामी टुर को कुरा गर्न थाल्यौं। सबै जना आफ्नो सिकाइ र अनुभव अरुसँग साट्न आतुर थिए। टुर नगएका बच्चाहरु पनि निकै ध्यान दिएर सुन्न थाले।

मैले प्रश्न राखें, “तिमीहरुले टुर बाट के के सिक्यौ?”

मैले सोध्न नपाउदै अन्जुले हत्तार हत्तार जवाफ दिई, “मिस पोखरा त कति सफा है, अब हामी पनि हाम्रो क्लास, स्कूल र पूरा गाउँ नै त्यस्तै सफा बनाउने प्रयास गर्छौ।" यति सुन्ने बित्तिकै मेरो मन निकै फुरुङ्ग भयो।

त्यति नै बेला सीताले हामी तोकिएको समय भन्दा ढिलो स्कूलबाट हिडेको हुनाले पोखरा ढिलो पुगेको अनि त्यहि कारणले गर्दा पोखराको एक दुइ वटा ठाउँ घुम्न नपाएको दुखेसो पोखी। यसबाट उसले समयको महत्व सिकिछे। अरु विद्यार्थी पनि आफ्नो अनुभव र सिकाइ सुनाउदै गए। यसो घडी हेरे अझै ५ मिनेट रहेछ। मेरो यो पछिको क्लास खाली थियो त्यसैले अर्को सर को क्लास नि आफै लिने सोचें। ब्याग खोलें र शिरी दाइको आर्टिकलहरु झिकें र आज “रमेश लामा बन्ने रे” भन्ने पढेर सुनाउने निधो गरें।

म पढ्दै थिएँ, उनीहरुले बुझी हाले यो उनीहरुकै क्लासमा पढ्ने सुनिलको भाइ रमेशको बारेमा लेखिएको थियो। जब जब म सुनिलको नाम लिन्थें ऊ पनि मक्ख पर्थ्यो। उनीहरु मलाई बीच बीचमा रोकेर शिरी दाइ र सुनिल सर (विज्ञान शिक्षक), रमेश लाई लिन गएको दिनको बारेमा थप जानकारी दिंदै थिए। शिरी दाइको आर्टिकलको अन्तिम लाइन थियो, “मलाई विश्वास छ, रमेश एकदिन विद्यालय आउनेछ। उ जुन दिन आउँछ उसलाई यो नयाँ कक्षामा सधै आइराखुँ भन्नेहोस्। म अब कुनैपनि विद्यार्थी गुमाउन चाहन्न।” खै आज किन हो यो पढ्दा अलि भावुक भएँ।

पढिसकेर उनीहरुको उत्तर थाहा हुँदा हुँदै प्रश्न राखें, “हाम्रो क्लासबाट पनि त्यस्तो स्कूल आउन छोडेको कोही छ र?”

उनीहरुले एकै स्वरमा उत्तर दिए, “मिलन दनुवार”।

मिलन बुबाले Samsung Galaxy J7 फोन नकिनिदिनु भएकाले केहि दिन देखि स्कूल आउन छोडेको थियो। पहिला पनि एक पटक बुबा ले अरु नै केहि चिज नाकिनिदिनु भएकाले स्कूल आउन छोडेको थियो, त्यति बेला म र बिनिता उसलाई लिन उसको घर नै गएका थियौं। केहि दिन आयो र फेरि आउन छाड्यो।

दिपकले भन्यो, “मिस त्यो लास्टको लाईन फेरि सुनाउनु त।” उसको मन पनि मेरो जस्तै यो लाइनले छोएछ भन्ने सोचें  र फेरि पढेर सुनाइदिए र त्यसपछी प्रश्न गरें, “के हामी मिलनलाई फेरि स्कूल ल्याउन सक्छौं त?”

“मिलन त अहिले इट्टा भट्टामा काम गर्छ। दिनको १००० कमाउँछ। अस्ति घर आउँदा मैले जे जे भनें त्यहि किनेर खुवाएको थियो,”  धिरेन्द्रले भन्यो।

फेरी दिपक बोल्यो, “मिलन स्कूल आउने विचारमा त छ तर अस्ति ढिलो आयो भनेर बिनिता मिसले हाजिर गरिदिनु भएको थिएन त्यसैले उ बिनिता मिससँग रिसाएको छ।”

उसले यति भन्ने बित्तिकै अशोकले जवाफ दियो,” हामी ढिलो आउदा बिनिता मिसले हामीलाई तर्साउन मात्र हाम्रो अगाडि हाजिर गरि दिनु हुन्न पछि माथि गएर गरिदिनु हुन्छ। मेरो त कति चोटी गरिदिनु भएको छ।"

म केहि नबोली उनीहरुको कुरा सुनी मात्र रहेको थिएँ। म केहि बोल्नै लाग्दा अन्जुले न्याउरो अनुहार बनाउदै  भनि,” मिस मैले पनि भेटेको थिए मिलनलाई ऊ स्कूल आउन त खोज्छ तर फलानो फलानो सर मिसले के के भन्नु हुन्छ। त्यो कुरा सुनेर हामीलाई त स्कूल नआउ जस्तो लाग्छ। अब फेरि मिलन आयो भने पनि के के सुनाउनु हुन्छ होला अनि त झन् रिसाएर मिलन कहिले पनि आउदैन।”

अन्जुले त्यति भन्न साथ सरलाले पनि भनि हाली, “मिस हामी त सबै भन्दा नराम्रो ब्याच रे, कुहिएको आलु रे। हामीले केहि गर्न सक्दनौं भन्नु हुन्छ सब सर मिसले।”

मैले उनीहरुलाई सम्झाए,” यो कुरा त सब सर मिसले आफ्नो विद्यार्थीलाई भन्नुहुन्छ। हामी स्कूल पढ्दा होस् या कलेग पढ्दा होस् नराम्रो ब्याच नै भन्नुहुन्थ्यो।  त्यो तिमीहरुकै लागि भन्नुभएको हो। SLC मा राम्रो गरोस, रिजल्ट राम्रो ल्याओस् भनेर। खै तिमीहरुले बुझेको।”

मैले सुनीललाई सोधे, “रमेश लामा बन्यो त?”

“कहाँ बन्नु मिस। खलासी चाहिं बन्यो बरु“, उसले जवाफ दियो।

“स्कूल आउछु भन्दैन ?”

“अहिले त स्कूल आउने मन गरेको छ।”

“अनि किन नआएको रे त?”

“खै मिस थाहा भएन।”

“मलाई एकपटक भेटाउ न, म उसलाई सम्झाउँछु।”

“अहिले त गाडी मा गएको छ मिस, घर आएको बेला म तपाइसँग भेट्न लिएर आउछु नि।”

मैले फेरि कुरा मिलन तिर मोडे,” हामी सबै मिलेर मिलनलाई फेरि स्कूल ल्याउने प्रयास गरौ न त हुन्न? अहिले कता छ मिलन? घरमा छ भने जाउ र उसलाई उतै गएर सम्झाउ अनि स्कूल लिएर आऊ।”

“अहिले त मिस त्यो भट्टा गएको होला। भरे भोलितिर आउछ। त्यो आएको बेला म एक पटक भेटेर पहिला त्यसलाई सम्झाउछु नि त,” धिरेन्द्रले भन्यो।

“मिस तपाइको नम्बर दिनु न बरु म त्यसलाई तपाईलाई कल गर भन्छु। अनि तपाई मज्जाले सम्झाउनुहोस।” उनीहरु सबै नम्बर टिप्न तयार भए। मैले मेरो नम्बर दिए र भने, “तिमीहरुलाई केहि प्रब्लम पर्यो भने मलाई जुन बेला पनि मलाई कल गर्न सक्छौ।”

अन्जुले हँसिलो अनुहार बनाउँदै भनी, “मिस हामी मिलनलाई लिएर आउँछौं अनि तपाई पनि यस्स्तै लेख लेख्नु है?” “हस्, मिलन आए पछि म पनि मेरो क्लास १० को मदतले मिलन फेरि स्कूल आउन थाल्यो भनेर तिमीहरुको नाम सहित आर्टिकल लेख्छु”, मैले भनें।

यही कुरा क्लास ९ मा पनि दोहोरियो। अहिले मेरा क्लास ९ र १० का विद्यार्थी आफ्नो स्कूल छोडेर बसेका साथीहरुलाई स्कूल फिर्ता ल्याउने काममा लागि परेका छन्।

हिजो मात्र म, बद्री सर (आर्थशास्त्र शिक्षक) र क्लास ९ का विद्यार्थी मिलेर क्लास ९ मा पढ्न आउन छोडेका ३ जना विद्यार्थीको घर गर्यौं। हामीले उनीहरुको परिवारग कुरा गर्यौं र उनीहरुलाई स्कूल पठाउन आग्रह गर्यौं। तीमध्ये विष्णु दनुवारलाई त आफैंग स्कूल लिएर पनि आयौं।

मलाई आशा छ मिलन स्कूल आउने छ र शिरी दाइको कुनै पनि विद्यार्थी नगुमाउने चाहना पूरा हुनेछ।

(Sabrina Thapa is a Teach For Nepal Fellow teaching English at Shree Ganesh Secondary School in Dukuchhap, Lalitpur.)

 

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links