गर्ने कसले?

Jan. 11, 2017

- प्रश्नील नेपाल

देशभरि नै मौसम परिवर्तन हुँदैछ। कटुवा, ललितपुरको दक्षिणी भेगमा भएको गाउँ पनि अछुतो रहन सकेन। अघिल्लो साँझबाट सुरु भएको बतासले हुरीको स्वरूप लिइसकेको थियो । हावाको वेग जति-जति बढ्दै जान्थ्यो, उतिउति जस्ताको गडगडाहट बढ्दै जान्थ्यो । लाग्दथ्यो अब जस्ता अड्याइरहेको काँटीले आफ्नो धर्म छोड्नेछ । तर त्यसो भएन ।

भोलिपल्ट लागें स्कूलतिर।

“ला... हाम्रो क्लास त हुरीले भत्काएछ।” एउटी बच्चीले आफ्नो कक्षा देखाउँदै भनिन्।

भूकम्प पछि बनेका कक्षारुपी अस्थाइ टहराहरु भग्नावशेष बनिसकेका थिए। कहिले घाम त कहिले पानी सहँदा सहँदै कक्षाकोठा बार्नेमान्द्रोहरुले अन्तिम श्वास फेरिरहेको स्पष्ट देख्न सकिन्थ्यो भने बाँसका थामहरुले घुँडा टेकिसकेका थिए । छतको पालले भने अहिलेसम्म आफ्नो इज्जत धान्दै थियो।

“अब तिमीहरु कहाँ पढ्छौ त?” मैले ती बच्चीलाई सोधें।

सोध्नेबित्तिकै मैले महसुस गरिसकेको थिएँ मेरो प्रश्न निरर्थक हो भनेर। जवाफमा उनको अनुहारमा प्रश्नवाचक चिन्हबाहेक अरु केही पाउन सकिंन।

मेरो काम कक्षा अवलोकन गर्नु थियो। गौरव (TFN फेलो, २०१५) सँग लागेँ कक्षा १० तिर जहाँ विज्ञान विषयको कक्षामा आज ब्रम्हाण्डको बारेमा पढ्न पर्ने थियो। ब्ल्याक होलको बारेमा कुरा गर्दै थिए उनी। ब्ल्याक होलको कुरा गर्दै उनले प्रकाशको परावर्तन, आवर्तन र हामीले कसरी कुनै चीज देख्छौं भन्ने कुरासम्म पढाउन भ्याए। विरुवाको पात वास्तवमा हरियो हुँदैन, आफूले लिएको सात थरी रंगहरु मध्ये विरुवाले हरियो रंग मात्र लिन सक्दैन, अनि त्यहि हरियो फर्काइदिन्छ। तसर्थ हामीले विरुवा हरियो देख्छौं भन्ने कुरा सुनाउँदा बच्चाहरुको अनुहारमा छुट्टै चमक देख्न सकिन्थ्यो । म आफूले पनि तारा मण्डल र तारा पुञ्जको बारेमा धेरै कुरा थाहा पाएँ  कक्षा अवलोकन गर्न गएको म कति बेला विद्यार्थी भइसकेको रहेछु पत्तै पाइन। अनि आफ्नो पालामा, “ल जाँचमा यो यो कुरा आउँछ” भनेर नोट मात्र लेखाएको सम्झिदा कता कता आफ्नो शिक्षक देखि रीस पनि उठ्यो ।

घण्टी लाग्यो । गौरवलाई फिडब्याक दिन पर्ने थियो। अघिपछि लाइब्रेरीमा कुरा गर्थ्यौं, पुनर्निर्माणको क्रममा त्यो पनि भत्किएछ। बस्ने ठाउँ खोज्दाखोज्दै हामी बिहानकै कक्षा बाहिर पुग्यौं, जहाँ निकै चहलपहल देखिन्थ्यो।  

“ओई! त्याँ पनि एउटा बाँस ठड्याउनु पर्छ।”

“ठड्याएर मात्र हुन्न, बान्न नि पर्छ ।”

“डोरी खै त ?”

“अफिसाँ छ ।”

एउटा केटो खुरुरु दौडेर अफिस कोठामा जान्छ र डोरी लिएर आउछ । अर्को झुण्डिएर टेको छोडेको छतलाई टेकोसम्म ल्याउँछ । कोही बाँसको थप टेको लगाउँछन् त कोही बाँध्न व्यस्त छन्। हेर्दा हेर्दै केटाहरुले अर्को हुरी नआउन्जेल सम्मको लागि बस्न लायक कक्षाकोठा तयार पार्छन् । दङ्ग पर्छु म उनीहरुको काम देखेर । आफ्नो कक्षा कोठा आफैंले बनाए। आफ्नो बुद्धि र सीपको उच्चतम प्रयोग गरे उनीहरुले। “स्कूलमा यस्तै सीप त हो नि सिक्ने,” म आफूलाई नै भन्दै थिएँ ।

तर जब उनीहरुको भविष्यको बारेमा सोंच्न थालें अनि स्तब्ध भएँ । “आज सिकेको सीप उनीहरुलाई कहाँ काम लाग्छ?” आफैंलाइ प्रश्न गर्छु र जवाफ पाउँछु –  घर बनाउने कामदार बन्दा काम लाग्छ। डकर्मी बन्नु आफैमा नराम्रो हैन। तर आफ्नो कक्षा बनाउन जुन किसिमको नेतृत्व लिएर समूहमा काम गरे, काम बाँडफाँड गरे, आफूले सोंच्न र गर्न सक्ने हरेको कुरा गरे, ती सिपको प्रयोग गरेर उनीहरु इन्जिनियर, व्यवस्थापक वा कुनै आयोजना नै फत्ते गर्न सक्छन् । तर कसले देखाउने उनीहरुलाई यो बाटो? के त्यो परिवर्तन सम्भव छ?

जवाफ पाउँछु, गौरव जस्ता शहरका योग्य युवाले यिनीहरुलाई पढाएमा यो परिवर्तन सम्भव छ। तर शहरका युवा के चाहन्छन् त? उनीहरु विदेश पढ्न, राम्रो आम्दानी हुने जागीर खान र आफ्नो भविष्य सुनिश्चित गर्न चाहन्छन्। आफू र आफ्नो भविष्यको बारेमा सोच्नु कुनै नराम्रो कुरा हैन । तर ती विद्यार्थी जसलाई हामी भविष्यको कर्णधार भन्ने गर्छौ, तिनीहरुको भविष्यको बारेमा चाहिं कसले सोंच्ने? के सिकर्मी, ड्राइभर, खलासी वा क्याटरिंगमा काम गर्ने कामदारले मात्र देश चल्छ ? के खाडीबाट पठाएको पैसाले मात्र सधैं अर्थतन्त्र चलाउने हो? पक्कै पनि हैन। यदि देशको अवस्था सुधार्ने हो भने सहरका युवा गाउँ नपसी हुन्न ।

कति युवालाइ सोध्ने गर्छु, “TFN मा आवद्ध हुने हैन?” जवाफ पाउँछु, “विदेशबाट डिग्री सकाएर फर्किएपछि म पक्का गाउँ गएर पढाउँछु।” तर भुइँचालोले देश अस्थिपन्जर भएको छ। केहि गर्नु छ भने गर्ने समय अहिले हो। ती बच्चाहरुको भविष्य परिवर्तन गर्ने अहिले नै हो। सबैजना आफ्नै मात्र भविष्यको बारेमा सोंच्न थाले भने देशको बारेमा कसले सोच्ने ? आफूसँगै आफ्नो देश परिवर्तन हुनु आवश्यक छ तर कसले गर्ने ? गर्ने हामीले नै हैन र ?

युवाहरु देशका ती किलाहरु हुन् जसले जस्तालाइ अड्याई राख्छ र देशलाई छतविहिन हुनबाट जोगाउँछ । के तपाइँ देशको छत जोगाउन तयार हुनुहुन्छ ?


(Prashneel Nepal served as a Teach For Nepal Fellow 2014-2016 and works at Teach For Nepal as a Leadership Development Manager.)

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links