के सिक्दै छु फेलोसिप मा?

Dec. 5, 2016

- सुमीत खरेल

राम्रो गर्ने चाहना कसलाई नहोला र! मलाई पनि छ। धेरै छ। झन देश राम्रो, विकसित र समृद्ध भएको हेर्ने सपना ठूलो छ। कक्षा ४ मा पढ्दा एक जना सरले “हाम्रो देश खत्तम छ” भन्दा यति राम्रो देशलाई सरले किन खत्तम भन्नु भएको होला जस्तो लाग्थ्यो। आफू हुर्कदैं जाँदा थाहा पाउँदै गएँ यति धेरै सम्भावनाले भरिएको देश अगाडि बढ्न सकिरहेको छैन। २००७ सालदेखिको पन्च वर्षिय योजना हेर्ने हो भने त देश धेरै अगाडि बढ्नु पर्ने हो। थुप्रै अवसरहरु सिर्जना हुनु पर्ने हो। तर आज ठूलो जनशक्ति देश बाहिर श्रम गर्दैछ। देशको अवस्था यस्तो हुनुको कारण जान्न म थुप्रै अन्तरवार्ता र लेखहरु पढ्ने र हेर्ने गर्दथे। तर चित्त बुझ्दो उत्तर भेट्टाउन सकिरहेको थिइन।

*** 

म काठमाण्डौको शहरी जिवनको प्रभाव नपरेको तर राजधानीबासीकै रुपमा उत्तरी भेगमा जन्मिएको र हुर्किएको हुँ। हाम्रो समुदायमा युवा जागरण समूहबाट परिस्कृत हुँदै बनेको चपली सामुदायिक केन्द्रबाट युवा गतिबिधि, विकास निर्माणका काम सन्चालन हुन्थ्यो। गाउने बजाउने टोली थियो। सानो जिम हल सन्चालनमा थियो। सार्वजनिक जग्गा कुकुर हगाउने ठाउँमा परिणत हुनै लाग्दा युवाहरुले श्रम दान गरेर र चन्दा संकलन गरेर हाल्फ कोर्ट नै सही बास्केटबल खेल्ने स्थान बनाएका थियौँ। फुटबल टोली राम्रै थियो। दुई पटक त म आफैँले टोली व्यवस्थापन गरें। बिजया दशमीको अवसरमा सांस्कृतिक कार्यक्रम हुन्थ्यो। तिहारमा पूरै गाउँ नै मिलेर क्लबको लागि सामुहिक देउसी खेलिन्थ्यो। खुबै रमाइलो समय थियो। त्यो समयमा हामीले धेरै सिक्यौँ, धेरै मान्छे चिन्यौँ।

समयक्रम सगैँ दाइहरु कोही विदेश जानुभयो कोही पारिवारिक काममा नै व्यस्त हुन थाले। नेतृत्वको अवसर अब हाम्रो पुस्तामा आएको थियो। सानैदेखि अलि बोल्न फुर्तिलो भएर साथीहरुले मलाई अगाडि बढ्न हौसला दिन्थे, दाइ अकंलहरुले पनि धेरै माया गर्ने। “केटो ले केहि गर्छ” भन्नुहुन्थ्यो। काम पनि गर्न त राम्रै नियतले गरेको हो। तर खै के भो के भो? कोर्टमा झगडा हुन थाल्यो। विशुद्ध खेलको लागि बनाइएको स्थान चुल्ठे मुन्द्रेको अखडा बन्यो। जिम हलको हल मात्र बाँकी भयो। जिमका सामानहरु त कुनै भाँचिए कुनै हराए। फुटबल टोलीको जर्सी त खेलाडी आफैंले पच पारिदिए। ब्याण्डको बजाउने साउन्ड सिस्टम, गिटारहरु चोरी भएर कता पुग्यो कता! फलस्वरुप त्यस समयको सफल र राम्रो काम गरी रहेको क्लब मृत अवस्थामा पुग्यो। मनमा सार्है नरमाइलो लाग्यो। राम्रो गर्न खोज्दा के भयो यस्तो? बुवाले भन्नु भएको याद आउँथ्यो "बाबु हरेश चाहिँ नखा है!"

फेरी नयाँ साथीहरुलाई संगठित गर्दै काम गर्न थालियो। ३-४ वटा युवा समुह त बनाउँदै सकिंदै गए। एक पटक त युवा राजनीतिमा लागेर साथीहरुलाई सैद्धान्तिक प्रशिक्षण समेत दिइयो र लिइयो पनि। तर यी सब कामहरुले मलाई न सन्तुष्टि दिए न आशातित परिवर्तन।

"कहाँ गल्ती भयो ? पक्कै केहि मिलेन। तर के मिलेन? " थाहा थिएन। मैले धेरै सिक्नु छ, मलाई थाहा भयो तर के सिक्ने थाहा थिएन।

***

चाहे देश विकास नहुनुको कारण होस या मेरो आफ्नो सिकाइको प्रश्न, उत्तरहरु भेट्टाउनु थियो। इन्टर्नको रुपमा बिवेकशील नेपाली हुँदै एक्सिस कि प्रा.लि. सम्मको यात्रा तय गरेँ। एक दिन महेन्द्र बिष्ट भन्ने साथीले "सुमितजी  एउट टिच फर नेपाल भन्ने संस्था रहेछ। त्यसमा तपाईं फिट हुनुहुन्छ जस्तो लाग्छ, ट्राइ गर्नुस " भनेर सुझाव दिनु भयो। ‘इन्फो सेसन’ मा गएँ। मन पर्‍यो।

२ महिने लामो आवेदन प्रकृया पूरा गरी छनोट भएको इमेल आयो। धेरै खुशी लाग्यो। ४२ दिनको आवासिय सिकाइको क्रममा कहिलेकाहीं मलाई त केहि आउँदैन रहेछ जस्तो लाग्यो। संसार त चिनेकै रहेनछु। धेरै आफ्ना मान्यता परिवर्तन भए। ‘रिफ्लेक्सन’ गर्न सिकेँ। ‘ब्याकवार्ड प्लानिङ’ थाहा भयो।

तालिम सकिन लाग्दा हामी कार्यरत रहने विद्यालयको नतिजा आयो। अब पर्‍यो फसाद। जुन ठाउँमा जान डर लागेको त्यहि ठाउँको लागि छनोट भएछु। ललितपुरको प्युटार गा.वि.स.मा पर्ने सिम्लेको लागि। सत प्रतिशत तामाङ समुदाय, बाटो नजोडिएको ठाउँ, अझ पानीको समस्या अनि खानाको लागि चापागाउँबाट सामान लानु पर्ने। तनाव उत्पन्न भयो एक छिन। फेरि सोचेँ। ललितपुरको गिम्दि, कटुवा जस्तो टाढा जान त तयार भएका छन्, म किन नहुने? त्यसपछि सुरु भयो सिम्ले यात्रा।

***

एक दिन थुप्देन सरसगँ राम्रै बहस भयो। उहाँले मलाई अतिरिक्त क्रियाकलाप विभागको समग्र योजना मागिरहनु भएको थियो।" सर, स्पष्ट योजना बनाउनु पर्‍यो, कुन मितिमा के-के काम गर्ने पहिल्यै योजना बनाउँ। आकस्मिक काम गर्न अलि भएन।"

मेरो काम गराइमा सरप्राइज बढी हुन्छ। योजना भन्न त्यति रुची गर्दिन, तर त्यसरी काम गर्दा पाठ योजना, शिक्षकहरुका अन्य कार्यक्रममा असर पर्ने रहेछ। फेरी अर्को महत्वपूर्ण पक्ष, योजना नभन्दा अपनत्व महशुस नहुने। अनि काममा त असर परी हाल्यो। काम गर्न खोज्दा हुने साइड इफेक्टको बारेमा थाहा पाएँ त्यो दिन। सहकार्यको आवश्यकता देखियो। सहकार्यको गुण विकास गर्नुपर्‍यो मैले अब।

विद्यार्थीहरुलाई पढाउँदा धेरै मेहेनत गरेर पढाइयो। नयाँ नयाँ तरिकाबाट पनि पढाइयो। तर प्रतिफल सोचेको जस्तो आएन। म आफू तीन छक परेँ। धेरै रिफ्लेक्सन गरेँ। मनोज सरले दार्चुला सदनको तर्फबाट प्रकाशित गर्नु भएको 'भोलिको सिम्ले' देखेर म नतमस्तक भएको थिएँ। आफ्नो कमजोरी पत्ता लगाएँ त्यो दिन। जोश सुरुमा मात्र देखाएर मात्र नहुने रहेछ। त्यसको हरेक तरिकाबाट वृद्धि विकाससगँ आफू जोडिन सक्नु पर्ने रहेछ। राम्रो काम सुरु गर्नु महत्वपुर्ण हो। तर त्यो भन्दा महत्वपुर्ण निरन्तरता रहेछ। चाहे हिजोको बाल क्लब होस या सरस्वती पुजा। 'भोलिको सिम्ले' भित्ते पत्रिकादेखि विद्यालय सभामा विद्यार्थी तथा शिक्षक शिक्षिकाको प्रस्तुती, चन्डेस्वरि टिम निरन्तर सहकार्य गर्दै अगाडि बढिरहेको छ।   

एस.एल.सी.मा सुध्रिएको नतिजा, सपनाले आफूमा ल्याएको परिवर्तन, सुरबीर र प्रकाशले आफ्ना लागि फुटबलमा देखेको सपना, ५ वर्ष पछि भित्रिएको हाजिरी जवाफको ट्रफि, चित्रकलामा ७ वटा गा.वि.स मध्य हाम्रो विद्यार्थीले प्रथम स्थान हात पार्नु, सिँगो सिम्ले फुटबलमय हुनु, खुला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रममा दिएको प्रस्तुतिले बढाएको सिम्लेको आत्मविश्वास सबै निरन्तर सहकार्यको परिणाम हुन्। सरोकारवाला सबैको अपनत्व सहितको निरन्तर सहकार्यले परिवर्तनको ढोका खोल्ने रहेछ। यो निरन्तरता र सहकार्यको मूल्य मैले फेलोसिपबाट सिक्दै छु जसले ममा त्यो गुण र मूल्यलाई आत्मसाथ गराइरहेको छ। भोलि कुनै पनि क्षेत्रमा काम गर्दा यही निरन्तरता र सहकार्यको गुणले मलाई राम्रा कामको सुरुवात मात्र होइन, पहिलेदेखि भईआएका राम्रा कामहरुमा निरन्तरता, परिमार्जन र परिस्कृत गर्न सहयोग पुर्याउँछ भन्नेमा म विश्वस्त छु।

म आज सोंच्दै छु - मैले फेलोसिप भन्दा अगाडि गरेका सम्पूर्ण कामहरुमा सही अर्थको सहकार्य र निरन्तरता हाल्न सकेको भए प्राय सबै काम सफल हुने रहेछन्। सायद मैले खोजेको सिकाइ यही हो जसले मलाई सफलता दिन सक्थ्यो। र म आज अर्को के पनि सोंच्दै छु भने, हाम्रो देशमा पहिलेदेखि जति पनि पन्च वर्षीय योजना तथा बजेटमा समावेश भएका कार्यक्रमहरुमा पनि सहकार्य र निरन्तरता मिसाइदिने हो भने देश समृद्ध बन्न सक्ने रहेछ।

अन्त्यमा,

हामीले ज्ञान जहाँ सिके पनि प्रयोग चाहिँ यही माटोमा गर्नु पर्ने छ। हाम्रो देशको सबैभन्दा ठूलो बाधक अस्थिरता हो। हामी हाम्रो देशको अस्थिरताको हल हाम्रो समाजमा खोज्ने प्रयास गरौँ। कतै त्यो अस्थिरताको कारक हामी पनि त होइनौँ? आफैँबाट सुरु गरौँ! आफू नभएको सिस्टममा ठूलो गफ होइन आफू सहभागी सिस्टममा परिवर्तनको अग्रसरता लिनुपर्छ। सहकार्य गर्दै, निरन्तरता दिनु पर्ने छ। आजको कक्षा बदल्न सके भोलिको समाज भोलिको राष्ट्र बदल्न सकिन्छ।

आउनुहोस्, कक्षा हुँदै समाज बदल्ने यो यात्रामा निरन्तर सहकार्य गरौँ, ताकि परिवारको आर्थिक र सामाजिक हैसियत फरक भएकै कारणले बालबालिकाहरुले प्राप्त गर्ने शिक्षामा भइरहेको विभेदको अन्त्य हाम्रै जिवनकालमा होस्।

******

(Teach For Nepal Fellow Sumit Kharel teaches Science at Shree Chandeswory Secondary School in Simle of Pyutar in Lalitpur and has been living with the community during the Fellowship.)

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links