दल्चोकीमा विज्ञान, प्रविधि तथा रोबोटिक्स प्रदर्शनी

March 2, 2016

लेखक : बिजयमणी पौडेल

२७ पुस

दल्चोकी, ललितपुर

 

“के सिक्यौ ?”

“बोल्न सिकेँ।”

इलेक्ट्रिक बेल बजाउँदै कक्षा १० मा अध्ययनरत चन्डिका दाहाल आफ्नो सिकाइ सुनाउँछिन् ।

अहिले दिनको १ बजेको छ । म ललितपुरको दल्चोकीस्थित श्री गोठभन्ज्याङ उच्च माध्यमिक विद्यालयको प्राङ्गढमा छु । आज यहाँ विज्ञान, प्रविधि तथा रोबोटिक्स प्रदर्शनी छ । कक्षा ७ देखि १० सम्मका ४० जना विद्यार्थीहरूले गत ३ दिनदेखि सुरु भएको कार्यशालामा तयार गरेका विविध सामग्रीहरू प्रदर्शनमा राखेका छन् । कार्यक्रममा करिब ४ सय विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थिति छ । कार्यक्रममा लगभग २ घन्टा हिँडेर आएका चौघरेका २१ जना विद्यार्थी पनि सहभागी भएका छन् ।

प्रदर्शनीको स्टलमा बसेका विद्यार्थीहरू अतिथि, अन्य विद्यार्थी र शिक्षकहरूलाई विविध उपकरणहरू देखाउन व्यस्त छन् । उनीहरूमध्ये कोही उपकरणलाई सन्चालन गर्छन्, कोही बुझाउँछन्, कोही भ्रमण गर्ने मानिसहरूको जिज्ञासाको जवाफ दिन्छन् ।

यस कार्यशालाका निर्देशक गणेश बिक्रम सिंह आले हुन् । आलेको टिमले बनाएको बम डिस्पोजल गर्ने रोबोट गत हप्ता नेपाली सेनाले किनेको थियो ।

सेनालाई रोबोट हस्तान्तरण गरेको केही दिनमै दल्चोकी पुगेका आले गाउँ र विद्यालयले आफूलाई गरेको स्वागतबाट कृतज्ञ भएको बताउँछन् । उनी कार्यशाला र प्रदर्शनीमा भएको विद्यार्थी र शिक्षकहरूको सक्रिय सहभागिताको प्रशंशा गर्छन् ।

सरकारी विद्यालयमा पहिलोपटक कार्यशाला सन्चालन गरेका आले भन्छन्, “मैले धेरै ठूलो कुरा नगरे पनि सुरुवात गरेको छु।” आगामि दिनमा अझ धेरै विद्यालयका विद्यार्थीहरूसँग काम गर्न इच्छुक रहेको उनले बताए । कार्यशालामा सहभागी विद्यार्थीहरूलाई सम्वोधन गर्दै उनले भने, “जति धेरै सिकायो, उति धेरै जान्ने भइन्छ । त्यसैले आफूले सिकेको कुरा सबैलाई सिकाउनुपर्छ।”

विद्यालयका सहायक प्रधानाध्यापक गंगाराम मगरले यो कार्यशाला र प्रदर्शनी दक्षिण ललितपुरमा ऐतिहासिक भएको बताए । विद्यालयका विज्ञान शिक्षक किशोर सुवेदीले सधैँ साहित्यिक कार्यक्रम मात्र हुने ठाउँमा विज्ञान र प्रविधि सम्बन्धी कार्यशाला आयोजना हुनु विद्यालयको लागि महत्वपूर्ण फड्को भएको बताए ।

कार्यक्रमको उद्घाटनको क्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद तिमल्सिनाले सिकेका कुरालाई चिरस्थायी बनाउन आफू प्रतिबद्ध रहेको बताए । प्रविधिलाई समुदायसम्म पुर्याउन सहयोग गर्ने गणेश आलेलाई धन्यवाद ज्ञापन गर्दै उनले भने, “यस कार्यशालाले हाम्रो हौसला बढेको छ । अब आफ्नो विद्यालय हुँदै ठूलो किसिमका प्रदर्शनीहरू आयोजना गर्न हामीलाई बल पुगेको छ।”

 

कार्यशालाको अवधारणा

यस कार्यशालाका मुख्य संयोजक उज्ज्वल कोइराला टिच फर नेपालमा आबद्ध भएदेखि नै आफूले हासिल गरेको इन्जिनियरिङ शिक्षालाई विद्यालयसँग जोड्ने उपाय खोजिरहेको बताउँछन् । नेपाल कलेज अफ इन्फरमेसन एन्ड टेक्नोलोजीबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा स्नातक गरेका कोइराला गत वैशाखवाट दल्चोकीमा टिच फर नेपालको फेलोको रूपमा पदस्थापन गरिएका थिए ।

इन्जिनियरिङलाई कक्षाकोठासँग जोड्ने उपाय खोज्ने क्रममा उनी आफ्नै कलेजका सिनियर गणेश आलेलाई भेट्न पुगे । यसअघि कोइरालाले विभिन्न कार्यशाला र प्रदर्शनीमा आलेसँगै काम गरेका थिए । प्रस्ताव सुन्ने बित्तिकै आले निकै उत्साहित भएको उनी सम्झन्छन्, “मैले प्रस्ताव लगेपछि गणेश दाइले आफू ज्यानै दिन तयार रहेको भन्नुभयो।”

कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालेकी सोही विद्यालयमा कार्यरत टिच फर नेपालकी अर्की फेलो सजनी श्रेष्ठ कार्यशालामा विद्यार्थीमा आएको परिवर्तन देखेर दंग परेकी छिन् ।

“आफैँले रोबोट छोएपछि, आफैँले ब्याट्रीमा तार जोडेपछि विद्यार्थीहरूको अनुभुति नै फरक हुनेरहेछ । उनीहरू रमाउने रहेछन्।” शंकरदेव क्याम्पसबाट बीबीए सकेर टिच फर नेपालमा आबद्ध श्रेष्ठ आफ्नो अनुभव बाँड्छिन् ।

दल्चोकीको छिमेकी गाउँ चौघरेबाट आफ्ना विद्यार्थीहरूलाई प्रदर्शनीमा सहभागी गराउन ल्याएका रोशन ढुंगेल भन्छन्, “विद्यार्थीहरूले आफैँले देखे आफैँले गरे भने उनीहरूले प्रेरणा पाउँछन् । विद्यार्थीहरू जिज्ञासु हुन्छन् । जिज्ञासु भए भने शिक्षकलाई पनि घच्घच्याउलान् भनेर विद्यार्थीहरूलाई यहाँ ल्याएको हुँ ।“

प्रदर्शनी नियालेपछि ढुंगेलले विद्यार्थीहरूको सामुहिक कामको प्रशंसा गरे । थोरै र स्थानीय क्षेत्रमा उपलब्ध स्रोत र साधनहरूको प्रयोगबाट धेरै कुरा बनाएको देखेपछि विद्यार्थीमा आत्मविश्वास आउने उनले बताए ।  

 

सहभागी विद्यार्थीहरूको विचार

मदन थिङ, कक्षा १०

हामीले विद्युत मोटर, विद्युत घन्टी र ट्रान्सफर्मर बनायौँ । हामीले किताबमा मात्र पढेका थियौँ । आज विभिन्न उपकरणहरू आफ्नै हातले बनायौँ । यसले हामी पनि पछि देशलाई योगदान गर्न सक्छौँ भन्ने लागेको छ ।

अनिता घलान, कक्षा १०

मलाई रोबोट मानिसजस्तो मात्र हुन्छ जस्तो लाग्थ्यो । तर रोबोट त धेरै प्रकारको हुँदो रहेछ । रोबोटले चन्द्रमा र अरु ग्रहमा पनि काम गर्न सक्ने रहेछ । पढेको कुरा बिर्सने रहेछ । गरेको कुरा कहिल्यै बिर्सन्न जस्तो लागेको छ ।

मनोज घिमिरे, कक्षा १०

विभिन्न विद्युतीय उपकरणहरू मैले किताबको चित्रमा मात्र देखेको थिएँ । आज आफ्ने हातले बनाएँ । मलाई गर्यो र सिकाउने मान्छे भयो भने जे पनि गर्न सकिन्छ भन्ने लागेको छ ।

रोज लामा, कक्षा १०

मैले समुहमा काम गर्न सिकेँ । आफ्नो हातले रोबोट चलाउँदा रमाइलो लाग्यो । अब मलाई इन्जिनियर बन्न मन लागेको छ ।

अर्चना थिङ, कक्षा ८

मैले रोबोट कहिल्यै देखेको थिइनँ । तर आज आफ्नै स्कुलमा देखेँ । रोबोटले त जे पनि गर्न सक्ने रहेछ । म ठूलो भएपछि धेरै काम गरेर देशको विकास गर्छु ।

 

 

लेखक टिच फर नेपाल फेलोका रुपमा दुई वर्ष सिम्ले- ललितपुरमा पढाएर अहिले टिच फर नेपाल मै लिडरशिप डिभेलपमेन्ट म्यानेजरका रुपमा कार्यरत छन 

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links