रमेश लामा बन्ने रे !
Dec. 17, 2015
- सिरिजङ हाङ राई, (टिच फर नेपाल फेलो २०१४)
“खै कँहा गयो त्यो ? हिजो पनि आएन, आज पनि छैन रे!”
शिक्षककोठा छिर्ने बित्तिकै एकाएक सुनियो। एक जना शिक्षकको भनाई थियो यो।
“त्यो त लामा पो बन्छु भन्छ त" अर्को शिक्षक अलि थाहा पाए जस्तै गरी बोल्नु भयो।
“कसको कुरा हुँदैछ ?” मैले सोधिहालेँ।
“रमेश छ नि, त्यो लामा बन्छु भन्दै स्कुल आउनै छाड्यो।”
सोफामा बस्दै मनमनै सोचेँ । के भएछ उसलाई? कहाँबाट लामा बन्ने सोच आएछ?
कक्षा १० मा पहिलो घण्टी थियोे। सरासर त्यता लागेँ। न्यूज राईटिङ्ग सिकाउनु थियो। आज भने सबै विद्यार्थीहरूले टाई लगाएका रहेछन्। योजनाअनुसार पाठ अघि बढाएँ।
भाइबहिनीहरू कक्षाकार्य गर्दै थिए। यत्तिकैमा कक्षा बाहिर रमेशको दाइको बोली सुनेँ। कक्षा ९ मा पढ्ने उसको दाजु सुनिल अलिक बुझकी छ जस्तो लाग्छ।
कक्षा १० लाई केही लेख्न लगाई म सुनिल तिर गएर सोधेँ, “भाइ खै?”
“खै” उसको जवाफ थियो।
“स्कुल किन आएन हिजो र आज?”
“खै सर, लामा बन्छ भन्छ।”
“के गर्छु भन्छ लामा बनेर?”
“घेवा गर्छ रे सर।”
“कहाँ छ अहिले ऊ?”
“घरतिर होला सर।"
"ठिक छ म लिन जान्छु।”
“सम्झाउनु है सर। मैले भनेको त मान्दैन।”
म फर्केँ र कक्षा १० मा पढाउन थालेँ। दोस्रो घण्टीपछि रमेशलाई लिन जाने सोच बनाएँ। स्टाफ रुममा जाँदै थिएँ, सुनिल सर केही ईशारा गर्दै आउनु भयो। सुनिल सर विज्ञानको शिक्षक हुनुहुन्छ ।
सुनिल सरले रमेशलाई लिन जाउँ भन्नुभयो। वाह् क्या राम्रो टिम, मनमनै सोचेँ। दुवैको खाली घन्टीमा हामी रमेशको घरतिर लाग्यौँ। केही समयपछि हामी उसको घरमा पुग्यौँ।
उसको आमा उनीहरूसँग बस्नुहुँदैन। बाबा धेरैजस्तो मेलातिरै ब्यस्त। चार दाजुभाइमध्ये रमेश कान्छो। यो सब बाटोमा सरले सुनाउनु भयो। तर मलाई अझ बुझ्न मन थियो, रमेश किन लामा बन्न चाहन्थ्यो। उत्तर मलाई रमेशकै मुखबाट सुन्नु थियो।
रमेश घरमा थिएन। माइला भाइले ऊ चौतारी तिर गएको भन्यो। धान काट्ने मेशिन ल्याएको थियो, त्यसैले धान काट्न गयो रे ऊ। अब चौतारी जानु पर्ने भयो हामी दुवैलाई। अर्को घण्टी सुरु हुन २० मिनेट मात्र बाँकी छ।
जानु अघि माइलालाई मैले सोधेँ, किन स्कुल आउन मान्दैन ऊ? उसको जवाफ त्यही, लामा बन्छु भन्छ। किन बन्ने रे भनेर सोध्दा ऊ भन्छ, खै सर पढ्न अल्छी गर्छ । त्यैलाई होला।
“घरमा पिट्छौ कि के हो?”
“काँ पिट्नु नि, माया लाग्छ।”
“सुनिलसँग पठाउ न त।”
“कहाँ टेर्छ त्यसलाई झन्।”
“ल सुन, अहिले हामी रमेशलाई सम्झाउछौँ । घरमा पनि सम्झाउनु नि। स्कुल पठाउनु नि, पढ्नु पर्छ यो उमेरमा ।” यति भन्दै हामी चौतारीतिर लाग्यौँ।
चौतारीमा एउटा घर थियो। त्यसै घरमा धान काट्ने मेशिन ल्याएको थियो । रमेश पनि त्यहीँ हुने अनुमान गर्यौँ। त्यहाँ पुगेर रमेशबारे सोध्दा त तपाईहरुलाई देखेर भर्खर भाग्यो भने मानिसहरूले। टुप्लुक्क एउटा बा आउनु भयो र भन्नुभयो, "सरहरुलाई झन् अघि नै बोलाको त, यहीँ लुकेर हेरिराथ्यो तपाईहरुलाई।"
“ल कता गयो भागेर?” सरले सोध्नु भयो।
“जाने सर?” सुनिल सरको प्रश्नमा मैले ‘ओके’ को ईशारा दिएँ। घरैघरको आँगनको बाटोमा घाम तापिराखेका मान्छेलाई रमेशको बारे सोध्दै हिड्यौँ। आज हामी दुईले ठानिसकेका थियौँ, रमेशलाई स्कुल लिएरै जाने।
“ऊ सर ऊ हामीलाई हेर्दै छ, ल ल भाग्यो।”
यसो हेरेको त ऊ दौडिरहेको रहेछ। म पनि दौडेँ। रमेश ! रमेश ! भन्दै दौडें। दौडायो हामीलाई तलैतल। एक ठाँउमा आएर हेरे उसलाई। कतै देखिनँ। उसले पनि हामीलाई खोजिरहेको रहेछ। दुवैको आँखा जुध्यो। ऊ फेरि दौडियो। म पनि दौडेँ। पछि पछि सुनिल सर पनि। रमेश! रमेश! फेरि कराएँ। ऊ रोकिएन। यतिकैमा युनिसेफले भूकम्प पीडितलाई वितरण गरेको पालबाट बनेको अस्थाई घरपछाडी लुकेको देखेँ। म पनि चाल मारेर समाउने दाउमा अघि सरेँ।
सुनिल सरले भन्नुभयो, "सर आँउदैछ, आँउदैछ।" म रोकिएँ । चियाएर हेरेको त आइरहेको देखेँ।
नजिक आएपछि एकहातले अँगालो मार्दै हाँस्दै भनेँ, "पक्डिहालेँ नि।" उसले पनि मनमनै भन्यो होला, म खुरुर्र दौडेको भा कहाँ सक्नु हुन्थ्यो र!
हामी उकालो चढ्दै थियौँ । उसले भन्यो, “सर पनि, दुख मात्र भो तपाईँलाई, म भोलि आईहाल्थे नि।”
मैले सोधेँ “आज किन नआएको?”
“लुगा धुनु थियो त्यसैले।” म मनमनै हासेँ।
“लामा बन्ने रे हो?” मैले सोधेँ।
“सोचेको त हो।” उसले भन्यो।
“किन बन्ने लामा?” मैले फेरि सोधेँ।
“त्यो त थाहा छैन।” अच्चममा परेँ म। किन लामा बन्ने, थाहा नै नपाई लामा बन्न हिडेको रहेछ !
बाटोमा फर्कँदा मलाई एक मनले भन्यो, किन लखेटेँ नि उसलाई अपराधी जस्तो? एकछिन विचार गरेपछि लाग्यो कि आफ्नो ठानेर त म उसको पछि पछि गएँ नि।
स्कूलमा पुग्यौँ। उसलाई कक्षामा जान भन्यौ र म पनि कक्षा ९ मा गएँ। अर्को घण्टी कक्षा ७ मा थियो जहाँ रमेश पढ्थ्यो। त्यहाँ केही नयाँ गर्न मन लाग्यो र सबैलाई सोधेँ उनीहरूको भविष्यको लक्ष्य। हिचकिचाउँदै सबैले भने तर रमेश बोलेन।
मेलै सबैको लक्ष्यमा हौसला दिदै रमेशलाई ईङ्गित गर्दै भनेँ, लामा बनेर मरेको मान्छेको घेवा गर्नुभन्दा त डाक्टर बनेर मान्छेको ज्यान पो जोगाउने काम गर्नुपर्छ।
यति सुनेर रमेशले पुलुक्क मलाई हेर्यो र मुस्कुरायो। मलाई लाग्यो उसलाई मेरो कुराले चित्त बुझ्यो।
मैले घर फर्कने बेलामा उसलाई भोलि आउँछौ भनेर सोधेँ। आउँछु भन्यो र आउन पनि थाल्यो ।
ऊ कक्षामा नियमित आउन थालेको थियो । केही दिनपछि प्रोत्साहन स्वरुप उसलाई मैले एउटा चोकोफन र पञ्जा दिए । उ खुसी हुँदै आफ्नो सिटमा बस्यो। मलाई लाग्यो, रमेश अब निरन्तर विद्यालय आउने छ ।
तर त्यसो भएन । आज ऊ पुनः लामा नै बन्छु भनेर घरबाट हिडिँसक्यो रे। उसको दाइलाई सोध्दा घरमा टेरेन, हामीलाई पिट्न पनि मन लाग्दैन, भन्नु म के गरुम् भन्ने उत्तर आउँछ । उसको परिवारसँग कुरा गर्न खोज्छु, कहिल्यै घरमा हुनुहुन्छ भन्ने जवाफ पाउदिनँ। म गरुम् त के ?
सही मार्गदर्शनको कमी भएको रमेशको मस्तिष्कले सही र गलत छुट्याउन सकिरहेको छैन। सायद पढेर के नै हुने हो र भन्ने सोचाई पनि हुँदो हो । प्रोत्साहन र एक्सपोजरको कमीले गर्दा पो हो कि उसको पढाइप्रति मोह घटेको ?
यदि रमेशले विद्यालय छोड्नुको कारण पनि यिनै हुन् भने हरेक कक्षामा प्रवेश गर्दा म आफ्नो पाठ योजनामा सही मार्गदर्शन समावेश गर्नेछु । सपना देख्न प्रोत्साहन गर्नेछु । उत्सुकता, प्रेरणा, इच्छाशक्तिको कहानी सुनाउने छु। उनीहरुको रुचिको ख्याल गर्दै कक्षालाई रमाइलो बनाउने छु । कक्षामा माया, सद्भाव र सम्मानको वातावरण सृजना गर्नेछु ।
मेरा विद्यार्थीहरू यस्तो वातावरणमा हुर्किऊन् जसले गर्दा उनीहरुमा सही र गलत छुट्याउने विवेक होस्। पढाइ र विद्यालयप्रति लगाव होस् । साथी, शिक्षक र परिवारप्रति सम्मान होस् । ठूलाठूला सपना देख्ने साहस होस् र कर्ममा विश्वास गर्ने धैर्य होस् ।
मलाई विश्वास छ, रमेश एकदिन विद्यालय आउने छ । ऊ जुनदिन आउँछ उसलाई यो नयांँ कक्षामा सँधै आई राखुँ भन्ने होस् । म अब कुनैपनि विद्यार्थी गुमाउन चाहन्नँ।