सपनासमेत देख्दैनन् गाउँका विद्यार्थी
Sept. 15, 2015
उमेश श्रेष्ठ/पहिलोपोस्ट-
‘सपना साँचो हुनका लागि तपाईँले सपना देख्नुपर्छ’ गरिब परिवारमा जन्मिएर भारतको ११ औँ राष्ट्रपति बनेका वैज्ञानिक एपिजे अब्दुल कलामले भनेका थिए। देशमा परिवर्तन गर्ने जोशजाँगरसहित विद्यार्थीहरुलाई पढाउन गाउँ छिरेका हाइफाइ युवा त्यतिखेर अत्तालिए, जब उनीहरुले देखे, गाउँका विद्यार्थीहरु त सपना पनि देख्दा रहेनछन्।
‘क्लासमा तिमीहरुको सपना के छ भनेर सोधेँ, केही छैन’, काठमाडौँबाट ११ किलोमिटर टाढा रहेको ललितपुरको डुकुछाप गाविसको गणेश माविमा पढाउन पुगेका २८ वर्षीय जलन महर्जन भन्छन्, ‘उनीहरुको त केही सपना नै रहेनछ। अझ शिक्षासँग सम्बन्धित सपना त सून्य। पढेर के गर्ने भन्ने नै छैन।’
जलनले सुरुकै दिन एउटा सानो लिखित जाँच लिए। परिणाम यस्तो आयो कि उनी तीनछक्क परे। ९० प्रतिशत जति फेल भए। ९/१० कक्षाका विद्यार्थीहरुलाई पनि एउटा सामान्य संरचना मिलेको वाक्य लेख्न नआएको स्थिति थियो। भविष्यको सपना के छ भनेर सोध्दा, अहँ केही छैन।
नेपालमा केही हुँदैन भन्ने निराशावादी कुरा सुन्दासुन्दा वाक्क भइसकेकी ३१ वर्षीया गायत्री केसीले पनि सिन्धुपाल्चोकको जलकेनी गाउँको रामदेवी माविमा पढाउँदा देखिन्, विद्यार्थीहरुमा म केही गर्नै सक्दिनँ, पास पनि गर्न सक्दिनँ भन्ने हिनताबोध।
टीकाभैरवको बुद्ध माविमा पढाइरहेका ३१ वर्षीय प्रवीणराज निरौला सम्झन्छन्, ‘नौ कक्षालाई पढायो, पाँच छ कक्षाको जतिको पनि स्तर छैन।’
दिल्ली युनिभर्सिटीबाट साइकोलोजीमा ब्याचलर सकाएर नेपाल बुझ्न सिन्धुपाल्चोकको मेलम्चीमा रहेको सामुदायिक स्कूल इन्द्रेश्वरी माविमा अध्यापन गराउन पुगेकी २४ वर्षीया सानु भण्डारी नौ कक्षाका विद्यार्थीले पनि ए, बि, सि, डी कनीकनी लेखेको देख्दा चित खाइन्।
साम्देन शेर्पा पुगेको ललितपुरको स्कूल जनजागृति माविमा त झन् प्राथमिक स्तरमा अंग्रेजी पढाउने शिक्षक दुई वर्षदेखि खाली थियो। कसैलाई वास्तै थिएन। पढाउनु भनेको के गाह्रो काम हो र भन्दै हौसिँदै पुगेका उनलाई सुरुका दिनमा त मलाई पढाउनै आउँदैन कि क्या हो जस्तो समेत अत्यास लागेर आयो।
काठमाडौँबाट ७० किलोमिटर टाढा किम्दी गाविसमा पढाउन पुगेका २४ वर्षीय प्रज्वल खड्का पहिलो पटक स्कूल पुग्दा ९० प्रतिशत विद्यार्थीले आँखामा हेरेर नाम पनि भन्न सकेनन्। छात्राहरुले त नामसमेत भनेनन्।