गर्ने शिक्षकले नै हो

July 7, 2015

लेखक : बिजयमणी पौडेल

यही चैत्रमा हाम्रो शैक्षिक अभियानको २ वर्ष पुरा भयो । विभिन्न क्षेत्रका हामी २९ जना तन्नेरीहरू दक्षिण ललितपुरका १५ वटा विद्यालयमा पढाएर फर्कियौँ । हामीमध्ये कोही पत्रकार थियौँ । कोही इन्जिनियर थियौँ । कोही मानविकी, वाणिज्य र शिक्षा संकायका विद्यार्थी थियौँ । कोही राजनीतिक पृष्ठभूमिबाट आएका थियौँ ।

देशमा संक्रमणकाल लम्बिरहेकै अवस्थामा २०७० सालको बैशाख महिनाबाट हामी कक्षाकोठाहरूमा प्रवेश गर्‍यौं।

अमेरिकामा पढेर फर्किएका तनहुँका युवक शिशिर खनालले परिवर्तन कक्षाकोठाबाट सुरु गर्न विभिन्न क्षेत्रका युवायुवतीलाई अपिल गरे। तत्कालिन समाजमा खनालको अपिल एक क्रान्तिकारी अपिल थियो। उनले देशका अब्बल युवाशक्तिलाई विकट गाउँमा गएर २ वर्ष सेवा गर्न आग्रह गरेका थिए।

गाउँमा बृद्धबृद्धा मात्र हुने र युवाशक्ति विदेश पलायन हुँदै गरेको अवस्थामा गाउँमा गएर पढाउने युवायुवती खोज्नु वास्तवमा एक महत्वाकाङ्क्षा थियो। देश परिवर्तन त गर्नुपर्छ तर आफ्ना छोराछोरीले होइन अरूका छोराछोरीले भन्ने सोच बोकेको हाम्रो समाजको घेरा तोड्दै टिच फर नेपालले ५०० सय आवेदन पायो।

त्यसमध्ये हामी ३३ जना छानियौँ। हामी ललितपुरको चापागाउँदेखि गिम्दी र कालेश्वरसम्म खटियौँ । एसएलसीमा अधिक विद्यार्थी फेल हुने गणित, विज्ञान र अंग्रेजी पढाउन सुरु गर्‍यौं।

विद्यालय पुगेको केही दिनमै हामी विद्यार्थी र समुदायसँग नजिकियौँ । विद्यार्थीहरू हामीसँग सजिलै खुल्न थाले। आफ्ना कथाव्यथा सुनाउन थाले। हामीसँग जिस्किन थाले। मनभित्र गुम्सिएको पीडा निकाल्दै रुन थाले।

हामी कुनै जादुको छडी बोकेर गएका थिएनौँ। हामीसँग पढाएको अनुभव पनि थिएन। अधिकांश डिग्री होल्डर पनि थिएनौँ। हामीमध्ये धेरैले भर्खरै स्नातक सकेका थियौँ। हामीलाई शिक्षण-सिकाइका दर्शन र सिद्धान्तहरू थाहा थिएन। केवल ६ हप्ताको तालिम लिएका थियौँ।

तर, हामीले विद्यार्थीलाई माया दियौँ। उनीहरूको प्रतिभा प्रस्फुटन हुने वातावरण सिर्जना गर्यौँ। विद्यार्थीको शासक बनेनौं, साथी बन्यौँ। हामीले उनीहरूका साना-साना कामहरूलाई स्याबास भन्दै हौसला दियौँ। उनीहरूको खुसीमा हाँस्यौँ भने पीडामा रोयौँ। कक्षाकोठालाई झ्यालखाना होइन, एउटा घर बनाउन सक्यौं। विद्यार्थीहरू निर्धक्कसँग बोल्ने वातावरण बनायौँ।

त्यसैले विद्यार्थीहरूले हामीलाई दाजु-दिदीजस्तो मान्न थाले। हाम्रो हात समाउन थाले । हाम्रो काखमा बस्न थाले । आफ्नो मिल्ने साथीलाई नसुनाएको कुरा हामीलाई सुनाउन थाले।

हामी धेरै काठमाडौंमै हुर्किएका थियौँ। त्यसैले सुरुसुरुमा गाउँमा बस्न हाम्रो लागि निकै कठिन थियो। ललितपुर भए पनि बर्खाको बेला हामीमध्ये केहीले १० घन्टासम्म हिँड्नुपर्यो । कतिपय गाउँमा पानी थिएन। घन्टौँ हिँडेर पानी बोक्नुपर्थ्यो। कति गाउँहरूमा विद्युत थिएन। कतिमा फोन लाग्दैनथ्यो। धेरै ठाउँमा इन्टरनरटको पहुँच थिएन।

 

यसको बाबजुत पनि हामी प्रयासरत रह्यौँ, थाकेनौँ । भागेनौँ, विकट गाउँहरूमा २ वर्ष बितायौँ। हामीले धेरै ठूला ठूला काम गरेनौँ । साना-साना कामबाटै परिवर्तन हुँदोरहेछ भनेर महसुस गर्‍यौं।

हामीले विद्यार्थी सँगसँगै राष्ट्रगान गायौँ। कक्षाकोठामा सधैँ समयमै गयौँ। कक्षाकोठाका भित्ताहरूमा विद्यार्थीहरूका चित्र, कविता, कथा टाँसिदियौँ। सधैँ मुस्कुरायौँ । कहिल्यै लज्जाबोधक सम्बोधन गरेनौँ। आफ्ना विद्यार्थीहरूलाई ‘तपाईँ’ वा ‘तिमी’ भन्यौँ । विद्यार्थीको घर-घर घुम्न गयौँ। उनीहरूका बुबाआमासँग कुरा गर्यौँ।

गीत गाउन मन पराउने विद्यार्थीलाई गीत गाएर सिकायौँ । कविता लेख्न मन पराउने विद्यार्थीलाई कविताबाट सिकायौँ। नाच्न मन पराउने विद्यार्थीलाई नाच्न लगायौँ । उनीहरूमा लुकेको प्रतिभाको उत्खनन गर्यौँ। उनीहरूको सामर्थ्यको प्रसंशा गर्‍यौं।

जाति वा लैङ्गिकभेद गरेनौँ। कक्षाको अन्तिम बेन्चमा सधैँ झोक्राएर बस्ने विद्यार्थीको मनोदशा मायाले खोतल्यौँ । उसलाई फकायौँ, सम्झायौँ । अरूलाई हेप्ने विद्यार्थीहरूसँग एकान्तमा कुरा गर्यौँ। विद्यार्थीहरूकै सहभागितामा कक्षाकोठाको संस्कृति बनायौँ। विद्यार्थीको प्रशंसा समूहमा गर्यौँ। उनीहरूको गल्ती एकान्तमा लगेर भनिदियौँ। यसले हामी र विद्यार्थीबीचको दूरी घट्यो। विश्वास बढ्यो।

विद्यालय र समुदायको विकासको लागि बालबालिकालाई नेतृत्वको मौका दिने वातावरण सिर्जना गर्यौँ । बालक्लबको निर्माणमा सहजिकरण गर्यौँ ।

पढाइलाई सरकारले दिएको किताब र कक्षाकोठामा सीमित राखेनौँ। कक्षाकोठामा रोलमोडेलहरू पुर्‍यायौं। म्याकमिलनको कथा सिकाउन कक्षाकोठामै साइकल पुर्‍यायौँ। अंग्रेजी बोल्नको लागि उत्प्रेरित गर्न बालबालिकाको ‘स्मार्ट क्लब’ बनायौँ । बेलाबेला विषयगत प्रदर्शनीहरू आयोजना गर्‍यौं। बाँसको झ्याङमा लगेर ज्यामिति सिकायौँ। विद्यालयमै बजार बनाएर अंकगणित सिकायौँ । लोकदोहोरी गाउँदै डार्विन र लेमार्कका सिद्धान्त सिकायौँ। जाँड बनाउने बिधि देखाउँदै फर्मेन्टेसन सिकायौँ।

हामीले विद्यार्थीको फोहोरसँग घिन मानेनौँ। विद्यार्थीको नाकमा लतपतिएको सिँगान पुछ्न विद्यार्थीलाई मायाले सम्झायौँ। विद्यार्थीको हातको फोहोर पसेको नङ काट्न आफैँ नेलकटर बोकेर गयौँ।

भर्खरै हामीले कक्षा ९ बाट पढाउन सुरु गरेका विद्यार्थीको एसएलसीको रिजल्ट आयो। हामीले काम गरेका विद्यालयहरूको समग्र रिजल्टमा तुलनात्मक रूपले सुधार भयो। गत वर्ष पास प्रतिशत ५४.८६ रहेकोमा यस वर्ष ७३.५२ पुग्यो। हामीले पढाएका विषयहरूमा अधिकांश विद्यालयहरूमा शत् प्रतिशत रिजल्ट आएको छ।

यो विद्यालयको  सफलता हो। विद्यालयका शिक्षकहरूको प्रयासमा यो सम्भव भएको हो। विद्यानाथ कोइरालाजस्ता स्वयंसेवी अभियन्ताहरूले ‘शिक्षकले चाहेमा गर्न सक्छन्’ भन्ने अभियान देशभरि चलाएका छन्। वास्तवमा हाम्रो सूक्ष्म प्रयास र प्रयोगले पनि यही देखाएको छ।

हो, सार्वजनिक शिक्षा क्षेत्र अस्तव्यस्त छ। शिक्षा व्यावहारिक छैन। शिक्षा क्षेत्रमा प्रदूषित राजनीति झाँगिएको छ । एउटा शिक्षकको रूपमा ती ठूला ठूला समस्या समाधान गर्न सम्भव छैन। त्यसको लागि सरकारबाटै पहल गरिनुपर्छ। तर यही प्रणालीमा एउटा शिक्षकलाई इमानदार भएर काम गर्न कसैले रोक्दैन । र, सयौँ शिक्षकहरूले गरिरहेका पनि छन्।

विद्यालयमा सबैभन्दा मुख्य भूमिका शिक्षककै हुन्छ । शिक्षकले आफ्नो ‘माइन्ड सेट’ (मानसिकता) बदल्ने हो भने परिवर्तन निश्चित छ। शिक्षकको मानसिकताले उसले गर्ने काम निर्धारण हुन्छ। उसको कामले विद्यार्थीको काम र लगनशीलतामा प्रभाव पार्छ। र, विद्यार्थीको कर्मले उनीहरूको रिजल्टमा प्रभाव पार्छ। यसरी विद्यार्थीहरूको रिजल्टको आधार शिक्षककै मानसिकता हो। त्यसैले शिक्षक आफैँले आफ्नो मानसिकता बदल्नु जरुरी छ।

लेखकले टिच फर नेपालका प्रग्यर्थीको रुपमा दुई वर्ष सिम्ले ललितपुरमा पढाए र अहिले टिच फर नेपाल मै लिडरशिप डिभेलपमेन्ट म्यानेजर रुपमा कार्यरत छन ।
साभार : http://setopati.com/blog/29946/

Let's stay in touch.

Contact Information

"TFN House"
140 Chitra Marga, Kantipath
Jamal, Kathmandu, Nepal

(+977) 01-5340105, (+977) 01-5340974

Quick Links